१२ कार्तिक २०८३, बुधबार

 

चाडबाड लक्षित सडक मर्मत गरिदै

बागलुङ नगरपालिकाले ग्रामिण भेगका सडकहरुलाई मर्मत गर्न थालेको छ । वर्षातको समयमा बाढी पहिरोका कारण नगरपालिका भित्र अवरुद्ध, बिग्रीएका सडकहरु मर्मतका लागि चार वटा स्काभेटर भाडामा लिइ काम सुरु गरेको छ । स्थानीय सरकारले गरेको लगानीमा खनिएका प्राय सबै सडकहरु बर्षामा अवरुद्ध भएपछि ग्रामिण भेगमा चल्ने सवारी साधन अबरुद्ध हुने गरेका छन् ।

सडक मर्मतपछि सवारी सञ्चालनमा ल्याएर दशैंमा घर आउने स्थानीयबासीलाइ सहजता प्रदान गर्न खोजेको बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले बताए। सडक मर्मतका लागि नगरपालिकाले आव्हान गरेको बोलपत्रमा सहभागी आठ कम्पनी मध्य न्युनतम रकम प्रतिघण्टा २ हजार ३ सय ५० रुपैँयामा बोल कबोल गर्ने पर्वतमाला कन्ट्रक्सन र डिएस कन्ट्रक्सनले २÷२ वटा स्काभेटर परिचालन गरेको नगरपालिकाले जनाएको छ ।


उक्त काम प्रभावकारी रुपमा सम्पन्न गर्नका लागि स्थानीय वडाका जनप्रतिनिधीको प्रत्यक्ष निगरानी तथा बागलुङ नगरपालिकाका तर्फबाट प्राविधिक दिपेन्द्र रेग्मी, रुकमान थापा, बलबहादुर खड्का र हिराबहादुर केसीलाइ खटाइएको छ । गाउदेखि शहरसम्म सिधा सवारी सुचारु गराउने उद्देश्यले नगरपालिका क्षेत्र भित्रका सडक मर्मतको कार्यलाई तिब्रता दिईएको नगरपालिकाले जनाएको छ ।

दसैं आउनै लाग्दा स्थानीय तह सडकमा केन्द्रीत देखिएका छन् । बर्षमा विग्रीएका आन्तरिक सडक मर्मत सुधार गरेर नागरिकलाइ सहज सेवा दिने उद्देश्यका साथ सडक मर्मत गर्न लागेको जनप्रतिनीधिहरु बताउछन् । जनप्रतिनिधिहरुले चुनावमा मात्र नागरिकलाइ सहज सेवा दिने प्रतिबद्धता दिने गरेको गुनासो आम नागरिकबाट आउन थालेपछि जनप्रतिनिधिहरु अहिले सडक मर्मतमा केन्द्रीत भएको बताइएको छ ।


अघिल्ला बर्षहरुमा दशैको मौकाछोपी गाउँगाउँमा सवारी सञ्चालन गर्ने र यातायात व्यवसायीहरुले मनोमानी गर्ने प्रचलनलाइ निरुत्साहित गर्नेपनि बताएका छन् । चाडपर्वको समयमा यात्रुहरु संगै अत्यावश्यकीय सामाग्री ढुवानीमा सहजता ल्याउनका लागि बिग्रेका सडक मर्मत गरी नियमित सञ्चालनमा ल्याउने प्रयास भैरहेको हो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung