अन्नपूर्ण गाउँपालिका ८ स्थित करबाकेलीमा शनिबारदेखि होमस्टे (घरबास) सेवा सम्बन्धी तालीम सुरु भएको छ ।करबाकेली संरक्षण र ब्यवस्थापन समिति काफलडाँडाले नेपाल पर्यटन तथा होटल ब्यवस्थापन प्रतिष्ठान (नाथम) काठमाडौको सहयोगमा आयोजना गरेको तालिम सात दिनसम्म सञ्चालन हुने जनाइएको छ ।
गत बैशाखदेखि सञ्चालनमा आएका करबाकेली इको पदमार्गमा समेटिएका काफलडाँडा, रिमा, राम्चे, लोप्रे र कुवापानीका ३५ जनाको सहभागिता रहेको करबाकेली संरक्षण समितिका अध्यक्ष चामबहादुर पुनले जानकारी दिए ।
तालिमको सत्यनारायण शाह, समिक शर्मा, बद्री अर्यालले सहजिकरण गर्नुहुने जनाइएको छ । स्वदेश तथा विदेशमा प्रचार–प्रसार भएको करबाकेली इको ट्रेकको भ्रमणमा आउने पर्यटकको खाना र आवास सुबिधा तथा स्थानीयबासीको आयआर्जनका लागि होमस्टे सञ्चालन गर्न तालिमको आयोजना गरिएको समितिका सचिव यामबहादुर पुनले बताए।
पुन थरका मगर समुदायको ऐतिहासिक धार्मिक स्थल करबाकेलीलाई केन्द्र बनाएर बाँसखर्क, महभिर, काफलडाँडा, रिमा, फुलबारी, राम्चे, लोप्रे, कुवापानीलाई समेटेर करबाकेली इको ट्रेक सञ्चालन गरिएको छ ।



















































































































































































































