यस क्षेत्रको धार्मिक स्थल मोदीबेनीमा चन्दा संकलन वाट बृद्धाश्रम बनाईएको छ । पर्वत र बागलुङका स्थानीय बासिन्दाले चन्दा संकलन गरि २४ कोठाको पक्कि भवन निर्माण गरेका हुन् । २०६८ सालबाट निर्माण कार्य शुरु भएको भवन निर्माणको काम हालै सम्पन्न भएको छ । भवन निर्माणको क्रममा ६७ लाख ९९ हजार ६ सय १६ रुपैयाँ लागत स्टिमेट तयार पारि काम शुरु गरिएकोमा ५७ लाख ३३ हजार ९ सय १५ रुपैयाँमा भवन निर्माणको काम पुरा गरिएको जेष्ठ नागरिक आश्रम विकास समितिका अध्यक्ष दीर्घनारायण श्रेष्ठले जानकारी दिए । २४ वटा कोठा रहेको बृद्धाश्रममा पूर्वाधार थप्ने काम जारी छ ।
गैह्र आवसिय नेपाली संघ ऐनआरएनका अध्यक्ष भवन भट्टले नवनिर्मित जेष्ठ नागरिक आश्रमको मंगलवार एक समारोहका विच उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष भट्टले मोदीबेनीको विकासका लागि गैह्र आवसिय नेपाली संघले पनि सहयोग गर्ने बताए । तत्कालका लागी उनले व्याक्तिगत रुपमा तीन लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने प्रतिवद्धता व्यक्त गरे । मोदीबेनीको विकासका लागि परियोजना प्रस्ताव लिएर आउन भट्टले आग्रह गरे । मोदीबेनीलाई यसक्षेत्रको प्रमुख पर्यटकिय क्षेत्र बनाउने योजनामा व्याक्तिगत र संस्थागत रुपमा निरन्तर सहयोग गर्ने अध्यक्ष भट्टले वताए ।
मोदीबेनी क्षेत्र विकास समितिका अध्यक्ष गोपालदास पौडेलले आश्रम बनेपनि सञ्चालनका लागि आर्थिक समस्या रहेको बताए । उनले खाना, औषधी, कर्मचारीको खर्च जस्ता कुरामा एनआरएनलाई सहयोग गर्न आग्रह गरे । मोदीबेनीमा जाने सडक पक्कि बनाउन, पुल बनाईदिन, कालीगण्डकीको वहावले कटान हुने क्षेत्रमा तटबन्ध बनाउने प्रस्ताव भट्टलाई बुझाइएको छ ।



















































































































































































































