जिल्ला प्रहरी कार्यालय बागलुङले ६३ औँ प्रहरी दिवस एक कार्यक्रम गरि मनाएको छ । ‘अपेक्षा फलको छैन कर्तव्य चिन्तन प्राणको आहुती दिने तिमीमा अभिनन्दन’ भन्ने नारासहित दिवस मनाईएको हो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले प्रहरीले प्रसंशनिय कार्य गर्दै आएकोमा पछिल्लो समय आपराधिक गतिविधिमा प्रहरीकै समेत संलग्नता देखिएको भन्ने विषय बाहिर आउँदा नागरिकमा प्रहरीप्रतिको विश्वसनियता घट्दै गएको गुनासो गरे । उनिहरुले कतिपय घटनाका कारण सिङ्गो प्रहरी संगठन नै विवादमा तानिएको भन्दै प्रहरीको शाख गुम्न नदिन प्रहरी कर्मचारीले आफ्नो कर्तव्य नैतिकवान भएर पुरा गर्नुपर्नेमा जोड दिए ।
नेपाल प्रहरी अपराध र अनुसन्धानको क्षेत्रमा अब्बल भए पनि अतिपय अवस्थामा राजनीतिक पुर्वाग्रह र अनैतिक कार्यका कारणले विश्वसनियता घटेको भन्दै यसलाई सुधार गर्न ईमान्दार बन्नुपर्नेमा जोड दिए । उनीहरुले प्रहरी संगठनको शाख नगुमोस भन्दै दिवसको अवसरमा शुभकामना दिएका थिए ।
प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले कानुनले अपराध मानेका गतिविधि गर्नेका लागि प्रहरी दुश्मन र अनुशासित नागरिकका लागि प्रहरी प्यारो साथी बन्नुपर्नेमा जोड दिए ।
सो अवसरमा बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल, बागलुङ उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष युवराज राजभण्डारी, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीष, राष्ट्रिय उपभोक्ता मन्च बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ, सामुदायिक सेवा केन्द्र रामरेखाका अध्यक्ष दुर्गा बहादुर आचार्य, पुर्ब प्रहरी माधब श्रेष्ठ लगायतले बोलेका थिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक दिपक रेग्मीले दिवसको अवसरमा नेपाल प्रहरीका प्रमुख सर्बन्द्रनाथ खनालले पठाएको शुभाकमना सन्देश पढेर सुनाएका थिए ।
सो अवसरमा कार्यालयमा उत्कृष्ट कार्य गरेको भन्दै विभिन्न प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको थियो । प्रहरीले आयोजना गरेको विभिन्न खेलकुद कार्यक्रममा विजयी सहभागिलाई मेडल प्रदान गरिएको थियो । प्रहरीलाई निशुल्क जग्गा उपलब्ध गराउने सामुदायिक सेवा केन्द्र रामरेखाका अध्यक्ष दुर्गा आचार्य र गुठिका अध्यक्ष लिलादेवी खड्कालाई सेवा केन्द्रबाट उत्कृष्ट सेवा पु¥याएको भन्दै सम्मान गरिएको थियो ।
बागलुङका प्रहरी उपरिक्षक दिपक रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रहरी निरिक्षक धर्म अधिकारीले गरेका थिए ।



















































































































































































































