गुल्मीको मुसिकोट नगरपालिकाले गर्ने बौद्धिक सम्मेलनको तयारी पुरा भएको छ। मुसिकोट नगरपालिको समृद्धि सम्भावना र चुनौती विषायक बौद्धिक सम्मेलनको तयारी पुरा भएको शनिवार साँझ पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ। यहि कार्तिक ४ र ५ गते हुने सम्मेलनमा मुसिकोट नगरपालिका भित्रका विज्ञ व्याक्तित्वहरुको सहभागिता हुने र सवै तयारी पुरा भएको सम्मेलन आयोजक समितिका संयोजक प्रकाश काफ्लेले जानकारी दिएका छन् ।
नेपाल सन्देश डट कमले वामी टक्सारमा आयोजना गरेको सो सम्मेलनमा संयोजक काफ्लेले मुसिकोट नगरपालिकाको सापेक्षतामा वौद्धिक सम्मेलन गर्न लागेको वताउँदै सवैलाई सकारात्मक सहयोगको लागि अपिल समेत गर्नुभएको छ। सो सम्मेलनमा मुसिकोट नगरपालिका मा जन्म भइ विभिन्न देश तथा क्षेत्रमा रहेका व्याक्तित्वहरुको सहभागिता रहने र सम्मेलनले उठाएका विषयलाई नगरपालिकाको गुरुयोजनामा समावेश गरि समृद्ध मुसिकोटको सपना पुरा गरिने काफ्लेले दावी गरेका छन् ।
मुसिकोट नगरपालिकाले गर्न लागेको सो सम्मेलनमा समृद्धिको लागि नागरिकको दायित्व, स्मार्ट सिटिको अवधारण र अभ्यास, समृद्धिको संभावना र चुनौती, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासको विषयमा प्राविधिक दृष्टिकोण लगाएतका विषयमा अवधारण पत्र प्रस्तुत गरिने कार्यक्रम रहेको छ। संभवत स्थानिय तहले नेपालमै पहिलो पटक गर्न लागेको सो सम्मेलनमा मुसिकोट नगरभित्रका प्राध्यापक, डाक्टर, इन्जिनियर, वरिष्ठ अधिवक्ता, समाजशास्त्री, पत्रकार, वरिष्ठ समाजसेविहरुको सहभागिता रहने छ।
कार्यक्रममा परराष्ट्र मन्त्रि प्रदिप ज्ञवाली सहित गुल्मी का संघिय संसद तथा प्रदेश संसदका सांसदहरु, छिमेकी स्थानिय तहका प्रमुख तथा उपप्रमुखहरुको सहभागिता रहने भएको छ। कार्यक्रममा गुल्मी क्षेत्र नं. १ का सांसद समेत रहनुभएका परराष्ट्र मन्त्रि ज्ञवालीलाई नागरिक तथा नगरपालिकाको तर्फवाट अभिनन्दन गर्ने कार्यक्रम रहेको कार्यक्रम संयोजक काफ्लेले जानकारी दिएका छन् ।
आयोजकले तयार गरेको अवधारणा पत्रमा उपस्थित वरिष्ठ व्याक्तित्वहरुको टिप्पणी रहने र ५ गते मुसिकोट घोषणा पत्र जारि गरि सम्मेलन सकिने आयोजकले जनाएको छ ।सो सम्मेलनवाट जारी गरिने घोषणा पत्रले आवश्यकताको पहिचान गर्ने, अपनत्व स्थापित गर्ने र नगरपालिकाको गुरुयोजना तयार गरि आगामी दिनमा हुने कार्यान्वयनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा रहेको संयोजक काफ्लेले जानकारी दिएका छन् ।
पत्रकार सम्मेलन शालिमे मिडिया प्रालिका अध्यक्ष हरिहर सापकोटाको अध्यक्षता तथा नेपाल सन्देश डट कमका प्रधान सम्पादक रामकृष्ण कंडेलको संचालनमा सम्पन्न भएको थियो।
सो कार्यक्रमकै अवसर पारेर वामी सेवा समिति जापानको मुखपत्र सन्देश अंक ३ विमोचन समेत गर्नेे भएको छ। कार्यक्रमको लागि वामी टक्सार वजारका विभिन्न स्थानमा स्वागत द्धारहरु वनाइएको छ भने कार्यक्रम स्थल रुद्रावति वहुमुखि क्याम्पसको प्राङ्गण लाई सजाइएको छ। मञ्चव्यावस्थापन देखि सवै कार्य राती सम्म भ्याउने गरि काम धमाधम भैरहेको छ। उता प्रमुख अतिथि परराष्ट्रमन्त्रि ज्ञवाली साँझ अवेर गुल्मी आएका छन् ।सो कार्यक्रमको रेडियो सारथी सहित विभिन्न संचार माध्ययमले प्रत्यक्ष प्रसारण गर्ने भएका छन्।



















































































































































































































