प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको चियापानमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भन्दा दोब्बर बढीलाई निमन्त्रणा गरिएको छ।
कांग्रेसले विजया दशमी, दीपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा शुक्रबार चियापान आयोजना गर्न लागेको कार्यक्रममा एक लाखभन्दा बढीलाई निमन्त्रणा गरेको जनाएको छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मका अनुसार उक्त चियापानमा विभिन्न क्षेत्रका गरी एक लाख व्यक्तिलाई निमन्त्रणा गरिएको हो। यसअघि नेकपाले कात्र्तिक १० गते शनिबार आयोजना गरेको कार्यक्रममा ५० हजारलाई निमन्त्रणा गरेको जनाएको थियो।
२०३५ सालदेखि हरेक वर्ष यस प्रकृतिको कार्यक्रम आयोजना गर्दे आएको प्रवक्ता शर्माले जानकारी दिए। शुक्रबार कांग्रेसले काठमाडौँ उपत्यकाको केन्द्रीय कार्यालयसहित ७४ जिल्लामा चियापान कार्यक्रम आयोजना गरेको जनाएको छ।
चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय सानेपामा अपराह्न १ बजेदेखि साँझ ५ बजेसम्म जारी रहने कांग्रेसले जनाएको छ।
कार्यक्रममा राजनीतिक दलका नेता, मन्त्रिपरिषद्का सदस्य, सांसद, संवैधानिक निकायका प्रमुख, सरकारका विशिष्ट श्रेणीका राष्ट्रसेवक, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख, उद्योगपति एवं व्यवसायी, पेशागत एवं बुद्धिजीवी, नागरिक समाजका अगुवा, मानव अधिकारकर्मी, सञ्चार गृह, पत्रकार, गैरआवासीय नेपालीका सङ्घ–संस्थाका प्रमुखलगायतका विशिष्ट महानुभाव, काङ्ग्रेसका सदस्य एवं शुभेच्छुकको सहभागिता रहने प्रवक्ता शर्माले बताए।
हरेक वर्ष विजया दशमी कोजाग्रत पूर्णिमाका दिन आयोजना हुने काङ्ग्रेसको चियापान कार्यक्रम यस वर्ष पार्टीका नेता चक्रप्रसाद बास्तोलाको निधनको १३औँ दिन नपुगेका कारण कात्तिक १६ गते सारिएको हो। नेता बास्तोलाका गत असोज २७ गते निधन भएको थियो।
काङ्ग्रेसले विसं २०७३ मा तत्कालीन पार्टी सभापति सुशील कोइरालाको निधनको वार्षिकी भएकाले र विसं २०७४ मा निर्वाचनका कारण चियापान कार्यक्रम आयोजना गर्न सकेको थिएन।



















































































































































































































