नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य भीम रावलले एकतापछि पार्टीका गतिविधि अगाडि बढ्न नसकेको बताएका छन्।
शुक्रबार अछामको मंगलसेनमा आयोजित अगुवा कार्यकर्ता भेलामा नेता रावलले एमाले र माओवादी केन्द्रबीचको एकतापछि पार्टी गतिविधि अघि बढ्न नसक्दा विपक्षीले विरोध गर्ने ठाउँ पाएको बताए।
नेता रावलले पार्टीको एकताको काम चाँडो सम्पन्न गर्ने गरी काम गर्न सबै नेता कार्यकर्तालाई निर्देशन दिए।
नेता रावलले कात्तिक महिनाभित्र पार्टीका सम्पूर्ण कमिटीलाई पूर्णता दिने बताए । जिल्ला कार्यदल र स्थानीय तहमा गठित कार्यदलले मातहतका कमिटी समायोजनका काममा तीव्रता दिइरहेका बेला काममा थप तीव्रता दिन रावलले निर्देशन दिए।
अगुवा कार्यकर्ता भेलामा नेकपाका केन्द्रीय सदस्य शरदसिंह भण्डारी, राष्ट्रियसभा सदस्य शेरबहादुर कुँवर, नेकपा नेता झपट साउद, प्रतिनिधिसभा सदस्य यज्ञबहादुर बोगटी, नेकपाका प्रस्तावित जिल्ला अध्यक्ष बमबहादुर बिसी, कार्यदल सदस्य बमबहादुर रावतलगायतका नेताले मन्तव्य राखेका थिए।


















































































































































































































