७ कार्तिक २०८३, शुक्रबार

 

कृष्ण मन्दिरमा निर्मला पन्त निभेको त्यो क्षण

कसरी भन्ने तीज सकिएर भाइटीका आइसक्यो तर, अझै मेरी बहिनीले न्याय पाएकी छैने भनेर। आमाको आँखा रसाउन छाडेको छैन भनेर।

कृष्ण मन्दिर वरिपरी बाक्लो हुल छ, केही अधिकारकर्मी, केही विद्यार्थी नेता, केही पत्रकार, केही लेखक र धेरै सर्वसाधारणको। विदेशी पर्यटकहरु पनि छन्। मन्दिरको ठिक अघि थुप्रै मैन र पाला राखिएका छन्। त्यसलाई कलात्मक तवरले ‘१००?’ को स्वरुप दिइएको छ। त्यसको अलि परपट्टी (मन्दिरको पिढीमा) ‘निर्मलाका निम्ती न्याय, जनताको निरन्तर खबरदारी’ लेखिएको ब्यानर छ। भूइँमा सुताइएको अर्को ब्यानरमा ‘निर्मला पन्तको बलात्कारी हत्यारालाई कारबाही गर’ लेखिएका छ। लाग्दैछ, भूइँमा सुतेको ब्यानरले न्याय सुतेको संकेत गरिरहेको छ। जसरी १००? ले सरकारको कपट, दरिद्रता, निरिहपनको संकेत गरेको छ। नैतिकतामाथि प्रश्न उठाएको छ।

‘ह्वाट इज दिस’ त्यतिकैमा एक विदेशी मेरो नजिकै आएर सोध्छन्। के भन्ने अब? उनलाई मेरो देशको हविगत सुनाऊँ कि नसुनाऊँ? म दोधारमा पर्छु। कुन मुखले भन्ने यहाँ निर्मलाहरुलाई चिथोरिएको छ, उनीहरु कोपिलामै निमोठिएका छन् र उनीहरुको सरकार निरिह छ। कसरी भन्ने तीज सकिएर भाइटीका आइसक्यो तर, अझै मेरी बहिनीले न्याय पाएकी छैने भनेर। आमाको आँखा रसाउन छाडेको छैन भनेर। देशको माटो निर्मलाहरुको रगतले लतपत्तिएको छ भनेर। दिनहुँ निर्मलाहरुको मुख थुनिएको छ, छाति निचोरिएको छ र उनीहरुलाई थिलोथिलो पारेर निमोथिएको छ, यो सबै प्रत्यक्ष देखिरहेको तपाईंले टेकिरहनुभएको धर्ती काँपिरहेको छ भनेर।

नसुनेझै गरेँ। फेरि सोचेँ, उसले अर्कोलाई सोध्यो भने? अनि नबुझेझै गरेर उसलाई पुर्लुक्क हेरेँ। उसले फेरि सोही प्रश्न तेर्सायो। मैले, ‘दिस इज अ सिम्बोलिक डेमोन्स्ट्रेसन अगेन्स्ट रेप एन्ड मर्डर’ भनिदिएँ।

‘व ग्रेट’ भनेर ऊ त्यहाँबाट हिँड्यो। म नतमस्तक भएँ।

०००
मैन र दीपहरु बल्न थाले। मलाई कञ्चनपुरकी कञ्जन, परिवारकी मुटु, देशकी छोरी निर्मला बलिरहेझै लाग्यो। हो, उसको छायाँमा हजारौँ निर्मलाहरु बलिरहेझै। आहा१ बल्दा कति गज्जबको प्रकाश छरेकी। मिरमिरे साँझमा शरद ऋतुलाई प्रज्वलित बनाएकी। तर, जब मैन र दीपहरु सकिँदै जान थाले मलाई निर्मला निभ्न लागेझै भान हुन थाल्यो। कहिल्यै नबल्नेगरी।

त्यत्तिकैमा कृष्ण मन्दिर भित्रबाट शंखको आवाज आउँछ। तुुउउउउउउउउउउ, पुउउउउउउउ, तुउउउउउउ …। त्यो आवाज पनि निर्मलाको झै लाग्यो। सायद उसले चिच्याई–चिच्याई आफ्नो बलात्कारीको नाम भनिरहेकी छ। अथवा, भनिरहेकी छ, जबसम्म मेरो बलात्कारी र हत्याराले सजाय पाउँदैन तबसम्म मेरो आत्माले शान्ति पाउने छैन। कसले सुन्ने उसको कुरा, कसले बुझ्नेरु उसलाई के थाहा यहाँ न्याय सुतिरहेको छ भन्ने।

०००
मैनबत्तीहरु पग्लिएर निभिसके, दीपहरु बलेर कालो ठूटामा परिणत भए। सबैको अनुहार मलिन छ। सबै मौन, चुपचाप। तर, मेरो मन अशान्त। सायद केही खोजिरहेको छ। आँखा चिम्लिएँ। कालो फेमभित्रको सेतो चस्मा मधुर–मधुर देखियो। एकछिनपछि निधारको रातो टीका, दाहिने परेलीसम्म झरेको कपाल, मन्द मुस्कान अनि निर्दोष अनुहार। यो अरु कोही नभएर निर्मला पन्तको सामाजिक संजालमा छाएको तस्बिर हो। जसलाई मजस्तै लाखौँ नेपालीले आफ्नो मन–मस्तिष्कमा सजाएर राखेका छन्। अथवा भनौँ, नचाहँदा–नचाहँदै पनि सलबलाइरहेको छ यो तस्बिर सबैको मानसपटलमा।

मन्दिरभित्र भजन सुरु भयो। लाग्दैछ, त्यहाँ पनि निर्मला गुञ्जिरहेकी छ। न्यायको खोजिमा। म विचरा उसको स्वरमा स्वर मिलाउनबाहेक के नै गर्न सक्छु र, ‘जस्टिस फर निर्मला।’

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung