७ कार्तिक २०८३, शुक्रबार

 

पर्यटन प्रर्बद्धन गर्न पोखरामा भाइ टीका महोत्सव हुने

पोखरा-पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले तिहारको अवसरमा यस वर्ष पनि पोखरामा भाइ टीका महोत्सव हुने भएको छ । यही कात्तिक २३ गते पोखराको लेकसाइडस्थित बटरफ्लाई चाइल्ड केयर सेन्टरमा महोत्सव हुने आयोजक पश्चिमाञ्चल होटल संघले जनाएको छ ।
नेपाली संस्कृतिको संरक्षण गर्दै पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्य उक्त महोत्सवलाई निरन्तरता दिँदै आएको संघका अध्यक्ष विकल तुलाचनले बताए । स्वदेशी तथा विदेशी पर्यटक माझ आपसी भाइचाराको अभिवृद्धि गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नेपाली संस्कृतिलाई पहिचान प्रदान गर्न महोत्सवले थप टेवा पुग्ने उनले बताए ।

नेपाली परम्पराअनुसार पर्यटकलाई तिहारको टीका लगाउने, देउसी भैलो खेल्ने र सेलरोटीलगायत अन्य परिकार खाने खुवाउने कार्यक्रम महोत्सवअन्तर्गत समेटिएको छ । गत वर्षको ११औं भाइ टीका महोत्सवमा १३ देशका ३५ पर्यटकले टीका ग्रहण गरेका थिए । गत वर्षकै तुलनामा यस वर्ष पनि पर्यटकको सहभागिता हुने संघले जनाएको छ । भाइ टीका महोत्सवको निरन्तरतासँगै पछिल्ला वर्षमा केही पर्यटक दोहोराएर टीका लगाउन पोखरा आउन थालेको अध्यक्ष तुलाचनले बताए ।

महोत्सवमा सहभागिताका लागि नाम दर्ता गर्ने क्रम सुरु भइसकेको महोत्सवका संयोजक एवं संघका कोषाध्यक्ष पार्वती पाण्डेले बताइन् । लेकसाइडस्थित होटल लेण्डमार्क, ग्ल्यासियर होटल एण्ड स्पाः र बटरफ्लाई लजमा नाम दर्ता गराउन सकिने छ । नेपाल पर्यटन बोर्डको प्रवद्र्धन रहेको उक्त महोत्सवमा होटल ल्याण्डमार्क र बटरफ्लाई लजले सहयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung