गण्डकी प्रदेश भौतिक पुर्वाधार विकास मन्त्रालय मातहतमा रहने गरी बागलुङमा शहरी विकास तथा भवन कार्यालयको स्थापना गरिएको छ । कार्यालयको बागलुङका प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेलले एक कार्यक्रमका बिच स्थापना गरेका छन । खरेलले प्रदेश मातहतमा रहेर यस कार्यालयले आफ्नो कार्यक्षेत्रका काम कुशलता पुर्वक सम्पादन गर्नका लागी आग्रह गरेका छन । उनले जिल्लाको आर्थिक विकास र समृद्धिका लागी कार्यालयले गहन भुमिका निर्माण गर्नेमा विश्वास रहेको बताए ।
गण्डकी प्रदेशका तिन वटा जिल्लामा शहरी विकास तथा भवन कार्यालय रहने बताईएको छ । जस अन्र्तगत बागलुङ, गोरखा र कास्कीमा यसको कार्यालय स्थापना भएको कार्यालयका सिनियर डिभिजन ईन्जिनियर सचेन्द्र कुमार देवले बताए । ‘हामीले साविकको शहरी विकास तथा भवन निर्माण डिभिजनको कामलाई नै निरन्तरता दिन्र्छौ’ उनले भने ‘केही हेरफेर भए पनि बाँकी सवै पुरानै काम हो । नयाँ काम भनेको प्रदेश सरकारले स्थानिय निकाय सँग मिलेर गर्ने सहलगानीमा निर्माण हुने काम मात्र हो ।’ कार्यालयले यस क्षेत्रमा निर्माण हुने स्वास्थ्य संस्थाका भवन तथा जनता आवास गृह निर्माणका कार्यलाई हेर्दै आएको थियो ।
जिल्लाको बुर्तिबाङ बजारमा निर्माण हुन लागेको साना शहरी योजनाको आयोजना प्रमुख पनि यसै कार्यालय हुने उनले बताए ।
गण्डकी प्रदेशमा गोरखामा यस अघिनै स्थापना भएको र कास्कीमा भने स्थापना हुन बाँकी रहेको छ । कार्यालयमा सिनियर डिभिजन प्रमुख सहितको १४ जनाको दरबन्दी रहेको छ । जसमा तिन जना ईन्जिनियर, तिन जना सव ईन्जिनियर, एक जना लेखापाल, एक जना नायब सुब्बा, एक जना हलुका सवारी चालक र २ जना कार्यालय सहयोगी रहने छन ।
कार्यालयलाई यस क्षेत्रका तिन जिल्ला बागलुङ, म्याग्दी र मुस्ताङ हेर्ने गरी कार्यक्षेत्र तोकिएको छ ।



















































































































































































































