३ श्रावण २०८३, आईतवार

 

१ सय ५७ वर्षे इतिहास बोकेको चिया खेतीको विकासले किन लिएन गति ?

झापा, कात्तिक २० । नेपालको प्रमुख नगदेवाली मध्ये एक हो, चिया । नेपालमा चिया खेतीको सुरुवात भएको १ सय ५७ वर्ष पूरा भएको छ । २७ हजार हेक्टर क्षेत्रफलमा चियाखेती गरेर नेपाल चियामा आत्मनिर्भर भएपनि चियाको व्यवसायिकीकरण भने अझै हुन सकेको छैन ।

चिया विकास निगमले सन् १९८७ मा चिया अक्सन केन्द्र शुरुवात गरेको थियो । आर्थिक बर्ष २०७५/०७६ मा बजेट विनियोजन नगरिँदा अक्सन सञ्चालन गर्ने विषय अझै अलपत्र परेको छ । जसका कारण पूर्वमा उत्पादन हुने चियाबाट सोचअनुरुप प्रतिफल प्राप्त गर्न सकिएको छैन ।

यस्तो छ इतिहास

१९२० मा नेपालमा चिया खेतीको सुरुवात इलामबाट भएको हो । तत्कालीन वडा हाकिम गजराजसिंह थापाले इलामबाट चिया खेतीको सुरुवात गरेका थिए । २०१६ सालमा वुधकरण टी स्टेट स्थापना भएपछि नेपालको तराइ क्षेत्रमा चिया खेतीको विस्तार भएको पाउन सकिन्छ । हाल झापा सहितपूर्वका विभिन्न जिल्लामा चिया खेती हुने गरेको छ ।

देशभरका ७७ जिल्लामध्ये १४ जिल्लामा मात्र व्यवसायिक चिया खेती गरिँदै आएको छ । जसमा झापामा सवैभन्दा बढी चिया उत्पादन हुन्छ ।
व्यवसायिक चिया खेती सर्वेक्षण २०७५ को प्रतिवेदनलाई आधार मान्दा झापामा व्यक्तिगत तथा साना किसान १ हजार ५ सय ३२ र संस्थागत तथा ठूला बगान ६९ वटा रहेको उल्लेख छ । झापामा कुल खेतीयोग्य जमिनको ७ हजार १ सय ९५ दशमलव १५ हेक्टर क्षेत्रफलमा चिया खेती हुँदै आएको छ । झापामा मात्रै ८ करोड २५ लाख १७ हजार केजी चिया उत्पादन हुँदै नेपाल चिया तथा कफी विकास वोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडका कृषि प्राविधिक नवीन कोइरालाले जानकारी दिए ।

देशभरका ९ हजार २ सय ३६ कृषक तथा व्यवसायीहरूले १२ हजार ६६ दशमलव ५ हेक्टर क्षेत्रफलमा चिया खेती गर्दा १० करोड ८० हजार केजी हरियो पत्ती उत्पादन हुने गरेको सरकारी तथ्यांक छ ।

नेपालका ११ हजार ४१ वटा बगानहरूमा चिया खेती गरिँदै आएको छ । जसमा झापामा मात्रै १ हजार ६ सय ३१ मा चिया खेती हुने गरेको छ । समग्रमा हेर्ने हो भने इलाममा सबैभन्दा धेरै ६ हजार ९ सय ९५,र सवैभन्दा कम सिन्धुपाल्चोकमा ८ वटा बगानमा चिया खेती हुँदै आएको छ ।

व्यावसायिक चिया खेती गर्ने कृषक तथा व्यवसायीमध्ये एक हेक्टरभन्दा कम क्षेत्रफलमा ८२ दशमलव ३ प्रतिशत किसानले चिया खेती गर्दै आएका छन् । त्यस्तै एक हेक्टरभन्दा माथि १० हेक्टरसम्म १६ दशमलव ५ प्रतिशत, १० हेक्टरभन्दामाथि २० हेक्टरसम्म ० दशमलव ४ प्रतिशतले र २० हेक्टरभन्दा बढी क्षेत्रफलमा चिया खेती गर्ने किसानको संख्या ० दशमलव ८ प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ ।

चिया खेती गर्नेमध्ये ५९ प्रतिशतले परम्परागत खेती गर्दै आएको केन्द्रीय तथ्यांक विभागका तथ्यांक अधिकृत किशोर केसीले बताए । झापामा मात्रै ९८.६ प्रतिशतले परम्परागत रुपमा ६ हजार ५ सय ३४ दशमलव २ हेक्टरमा चिया खेती गरिरहेको तथ्यांकमा उल्लेख छ । त्यसैगरी इलाममा ५७ प्रतिशत किसानले १ हजार ८ सय ८१ हेक्टरमा परम्परागत शैलीमा चिया खेती गर्दै आएका छन् ।

नगदेवालीको रूपमा रहेको चिया खेतीबाट कृषक तथा व्यवसायीले हरियो पत्ती बिक्री गरेर वार्षिक १ अर्ब ७४ करोड २२ लाख १५ हजार ३ सय ६५ रुपैयाँ आम्दानी गर्ने गरेका छन् ।

चिया खेती गर्ने कृषक तथा व्यवसायीमध्ये ४.५ प्रतिशतले मात्रै आफ्नो चिया खेती व्यवसाय दर्ता गरेर सञ्चालन गर्दै आएका छन् । झापामा ११.७ प्रतिशत र इलाममा २.५ प्रतिशतले मात्रै चिया व्यवसाय दर्ता गरेर सञ्चालन भइरहेका छन् ।

पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर, ताप्लेजुङ र धनकुटामा चिया खेती सुरु गरेसँगै झापामा पनि चिया खेतीको शुरुवात भएको थियो । नेपाली चिया उत्पादन तथा प्रशोधनका लागि सरकारी स्तरबाट २०२३ साल असोज २३ गते नेपाल चिया विकास निगमको स्थापना गरेर चिया खेतीको व्यावसायिकतालाई विश्व बजारसम्म पु¥याउन पहल भएको पाइन्छ ।

अलपत्र अक्सन केन्द्र

तत्कालीन राजा वीरेन्द्र शाहले पूर्वका झापा, इलाम, पाँचथर, धनकुटा, तेह्रथुम जिल्लालाई चिया क्षेत्र घोषणा गरी चिया खेतीको समग्र विकासलाई महत्व दिएसँगै झापामा चिया खेतीले व्यवसायिकता पाएको हो । नेपालमा मूलतः सीटीसी, अर्थाेडक्स र ग्रीन टी उत्पादन हुँदै आएको छ ।

२७ हजार हेक्टर क्षेत्रफलमा चियाखेती गरेर नेपाल चियामा आत्मनिर्भर भए पनि चियाको व्यवसायीकीकरणका अझै हुन सकेको छैन । चिया विकास निगमले सन् १९८७ मा चिया अक्सन केन्द्र शुरुवात गरेको थियो । आर्थिक बर्ष २०७५/०७६ मा बजेट विनियोजन नगरिँदा अक्सन सञ्चालन गर्ने विषय अलपत्र परेको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडले जनाएको छ । नेपालमा चिया अक्सन सञ्चालन गर्न सरकारले २०७२ सालमा निर्देशिका नै जारी गरे पनि हाल आएर बजेट नछुट्याउँदा चियाको अक्सन केन्द्र अलपत्र परेको बताइएको छ ।

चियाको प्रर्बद्धनका लागि स्पष्ट नीति तथा कानूनको अभाव

स्थानीय निकाय, प्रदेश सरकार र संघीय सरकारमध्ये कसले चियाको प्रर्बद्धनका लागि नीति तथा कानून बनाउने स्पष्ट व्यवस्था नहुँदा चिया किसान, उद्योगी र मजदुर अप्ठ्यारोमा परेको झापाको गिरीबन्धु टिस्टेटका निमित्त प्रबन्धक सन्तकुमार राईले बताए ।

भारतीय चियाको तुलनामा नेपालमा उत्पादित चिया सस्तो हुने भएकाले यहाँको चिया भारत जाने र भारतबाट तेस्रो मुलुक निर्यात हुने गरेको छ । नेपालमा उत्पादित चियाले टे«डमार्क नपाएका कारण भारतीय व्यापारीले यहाँ उत्पादन भएको चि

भारत लैजाने गरेको र भारतीय ब्राण्डमा नेपाली चिया बिक्री गर्ने गरेको चिया किसानको गुनासो छ ।नेपाली तयारी चिया भारतको मण्डी हुँदै तेस्रो देशमा निर्यात हुने गरेको छ । नेपालको प्रांगारिक चिया अहिले जर्मनी, अमेरिका, क्यानाडा, जापान, चीनलगायतका मुलुकमा निकासी हुने गरेको छ । नेपालको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेपनि चिया वगानमा काम गर्ने श्रमिकको समस्याका विषयमा सरकार उदासिन रहेको चिया मजदुर नेता दीपक तामाङको भनाई छ ।

चिया उद्योगले करिब ६० हजार श्रमिकलाई रोजगारी दिएको छ । चिया रोपेको तीन वर्षमा नै उत्पादन दिन्छ । करिब हजार मिटर तलको उचाइमा चियाखेती हुँदै आएको छ ।

अर्बौंको कृषिजन्य वस्तु आयात भइरहेको अवस्थामा चिया निर्यातले भने कृषि क्षेत्रमा आशा जगाएको छ । चिया उत्पादन वृद्धि हुँदै गएपछि हरेक वर्ष चिया निर्यात बढ्दै गएको हो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung