३ श्रावण २०८३, आईतवार

 

डोलोमाइट्समा तीन दिन (तस्विरहरु)

युरोप महाद्वीपमा पर्ने एक शक्तिशाली र सुन्दर देश हो इटाली। इटाली आफ्नै मौलिक सभ्यता र प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । यही सौन्दर्यताले भरिपूर्ण देशमा डोलोमाइट्स(इटालीयन भाषामा डोलोमिटी भनिने)पहाडलेभौगर्भिक, ऐतिहासिक र प्राकृतिक महत्व राख्दो रहेछ । डोलोमाइट्सइटालीको उत्तरी पूर्वमा पर्नेे बेलुनो, साउथ टायरोल र ट्रेन्टिनो प्रान्तको पहाडी श्रृंखला रहेछ । प्राकृतिक स्रोत व्यवस्थापनमा यो पहाडी श्रृङ्खलाका आप्mनै मोलिक विशेषता रहेका छन् ।

१९६३ मा बाँध भत्कीएको स्थल

भ्रमणको सन्दर्भ पादोभा विश्वविद्यालय, इटालीबाट वन पर्यावरण तथा व्यवस्थापनसम्बन्धी विषय र समय थियोसन् २०१८ अक्टोवर ९ देखि ११ गतेसम्म । यही समय र सन्दर्भले डोलोमाइट्सको पर्यावरण तथा वनव्यवस्थापन सम्बन्धी विषयमा भ्रमण गर्ने मौका जु¥यो ।समयको गतिलेमानिसलाई कहाँदेखि कहाँ पु¥याउँदो रहेछ भन्नै नसकिने । अस्तिसम्म नेपालको घुम्टे, गाजा, निलुवा, पञ्चासे, तीनचुले, सोले, ढोरपाटनका डाँडापाखामा रमाउने ठिटो एकाएक डोलोमिटीमा पुग्नु आश्चर्यको विषयत छँदै थियो । शरीर र आँखा डोलिमिटीमा रमाए पनि मन छ उनै घुम्टे र सोलेमा थियो । नेपाल र इटाली अनि घुम्टे र डोलिमिटीलाई तुलना गरिरहेको थियो ।

लोङ्गारोना गाउँ

समुन्द्र माथिको विशाल सहर भेनिसदेखि नजिकै रहेकोे लिनारो भन्ने स्थानबाटदुई प्राध्यापकसँग सोह्र जना विद्यार्थीको भ्रमण टोली डोलोमिटीतर्फ लम्क्यो । प्राचीनकालदेखिका पुराना चर्च, थोत्रा बिल्डिङ्ग, अहिलेका गगनचुम्बी पुल, पहाड छेडी बनाएका मोटरबाटो जस्ता प्राचीन र आधुनिक विकास र विनासका दृश्यावलोकन गर्दै यात्रा अगाडि बढिरह्यो ।यात्रामा पादोभा विश्वविद्यालयका प्राध्यापक मारियो पिभिडोरी र प्राध्यापक मार्को कारिअर अनि स्कटल्याण्ड, रसिया, इटाली, जर्मनी, नाइजेरिया, चाइना, इथोपिया, ताजकिस्थान लगायतका देशबाट पढ्न आएका विद्यार्थी साथीहरु थिए । यात्राका क्रममा सबैको मुहार हँसिलो थियो । सबैले भित्री मनको भाव व्यक्त गर्न नसके पनि ‘वा हाउ नाइस्’ भन्ने सबैको साझा भाषा थियो ।

डोलोमाइट क्षेत्रमा फुलहरुले सजाइएको घर

सबैको हाउभाउमा मेरा जस्तै ‘सेम टु घुम्टे’ जस्ता वाक्यहरु उनीहरुका मुखबाट पनि निस्किन्थे । बीचबीचमा प्राध्यापकले कस्तो लाग्यो ?, केकस्ता विशेषताहरु पायौ जस्ता प्रश्न पनि गरिरहन्थे । यात्राकै क्रममा पिआभे नदीको किनारमा पुग्दा एउटा प्राकृतिक विपत्तीको दृश्यावलोकन भयो ।प्रा. मारियोले इटालीमा भएको दुखद् पहिरोको घटना सुनाए । हाम्रो यात्राभएकै अक्टोबर ९ को दिन ५५ वर्ष अगाडि सन् १९६३ मा त्यो दुखद् घटना घटेको रहेछ । उत्तरी इटालीमा विद्युत आपूर्ति गर्न पिआभे नदीमाथि ८७५ फिट अग्लो बाँध बनाइएको रहेछ । उचीत भौगर्भिक स्थानको छनौट नभएका कारणउक्त बाँधमाथि रहेको चट्टान खसेर लोङ्गारोना गाउँका रहेका सम्पूर्ण घर बगाईदुई हजार भन्दा बढी मानिसहरुको ज्यान गएछ । अदालतमा सो बाँध बनाउने इन्जिनियरलाई मुद्दा पेस हुँदा त्यसको अदालती फैसला हुनु पूर्व नै उनले आत्महत्या गरेका रहेछन् । मारियो घटनाको विवरण सुनाउँदा सुनाउँदै स्तव्ध भए र सबैलाई भाव विह्वल बनाए ।

डोलोमाइट्स क्षेत्रमा पाइने गुरासँ प्रजाति (रोडोडेन्ड्रम फेरुजिनियम)

भौगोलिक, भौगर्भिक, सामाजिक र वातावरणीय पक्ष राम्रोसँग ख्याल नगरी विकास निर्माण गर्दा हुने मानवीय क्षतिको डरलाग्दो रुप त्यो घटना थियो ।सो घटना सुनेर मलाई मेरै गाउँ ठाउँले झस्कायो । हिजा आज त मेरो गाउँमा विकासको लहर आएको छ । विकासको नाममा जुन भूगोलमा पनि मोटर बाटो खनिन्छ । जस्तो भूभागमा पनि जलविद्युतको सपना बाँडिन्छ । सडक खन्न डोजर बाह्रै महिना चल्छ । भूक्षय कति भो, कतिका घरबास र खेत बारी उठिसके त्यो हिसाब किताव भएकोछैन । कमजोर भूगोल भएको मेरो गाउँ ठाउँले यस्तो नरसंहार कहिल्यै भोग्न नपरोस् भनी भगवानलाई सम्झे । गाउँको विकास गर्छु भन्ने विचरा अभियन्ताहरु कतै दैवी विपत्तीसँगै आत्महत्या गर्नुपर्ने परिस्थिति मेरो देशमा नआओस् भन्ने मनमनै परिकल्पना गरेँ ।

यात्राको क्रम चली नै रह्यो । बाटोमा फेला परेका सल्ला र धुपीका रुखहरु प्रा. मारियो र प्रा. मार्कोले चिनाउँदै लगे । कति ठाउँमा बस रोकी डढेलो लागेका डाँडाहरु देखाउँथे । हेलिकप्टरबाट वन डढेलो निभाएको कथा सुनाउँथे । सय वर्ष पहिले र सय वर्ष पछिको बारेमा अनुमान लगाउन लगाउँथे ।आपूmलाई भने गाउँमा डढेलो लाग्दा माटो पात पतिंगरले डढेलो निभाउन डौडेको कुराले झसँङ्ग पार्दथ्यो । वन्य जन्तु र वन बीचको सम्बन्धका बारेमा घटना सुनाउँथे । कतै मांसहारी जनावर लोप भएर हरिणले जङ्ल नास गरेका घटना सुनाउँथे, कतै जङ्गली जनावर र मानवबीचको द्वन्द्वका घटनाहरु सुनाउँथे । मलाई यी सबै मेरै गाउँघरका कथा र व्यथा हुन कि जस्तो लाग्थ्यो ।

करिब ४ घण्टाको यात्रापछि हामी डोलोमिटीको विशाल क्षेत्रमा पुगियो । तीनवटा प्रान्तमा पर्ने डोलोमिटी भनेका त नाङ्गा पत्रेदार पहाडहरु पो रहेछन् । अनगिन्ती संख्यामा जता पुग्यो उस्तै नाङ्गा चुचुरो देखिने । काटिकुटी मेरै गाउँका घुम्टे पहाड जस्ता तर मेरो गाउँको घुम्टे जस्तो बलियो होइन । खोइ, घुम्टे लेकको सम्झनाले उस्तै पो लागेको हो कि कुन्नी ।

डोलोमिटी कै पुछारमा रुख विरुवाको उमेर पत्ता लगाउने र रुखबाट विगत बारे अध्ययन गर्न मिल्ने पादोभा विश्वविद्यालयको अनुसन्धान केन्द्र रहेछ । प्रा. मारियोले यही केन्द्र अगाडि लन्च खाँदै अफ्रिकन प्लेट र युरोपिन प्लेटको घर्षणबाट तीन सय मिलियन वर्ष अघि यी डोलोमिटी बनेको कुरा सुनाए । अनुसन्धान केन्द्र नजिकका वनमा घुमाउँदै विविध प्रजाति, छत्र घनत्व, प्रति हेक्टर रुख संख्या, उमेर, विगत, वर्तमान र भविष्य बारे अनुमान गर्न लगाए । वन जंगल घुमेर बेलुका छ बजे मात्रै डोलोमिटी नामकै होटल आराम गरियो ।

अर्को दिन अक्टोवर १० गते बिहानको ब्रेक फास्टपछि डोलोमिटीको अध्ययन जारी रह्यो । डोलोमिटीको मानव वस्ती कति सुन्दर । पर्यटन व्यवसाय कस्तो राम्रोसँग मौलाएको । हरेक घरमा अघिपछि माथि तल जता हेरे पनि राता र पँहेला रंगका रंगिन फुलहरु रोपेका । सडक, चोक र कुना कन्दरा समेत कति सफा । भिराला मैदानमा स्कीङ्गखेल्ने ठाउँ बनाएका ।

हरेक ठाउँमा साइकलिङ गरी पुग्न मिल्ने गरी बनाइएका । अझ वन जंगल पनि व्यवस्थित बनाइ पर्यटन प्रवर्धन गरिएका । ती नाङ्गा डोलोमाइट्सका पहाडहरु हेर्नलाई कति व्यवस्थित बनाइएको । तर मलाई भने मेरै गाउँका डाँडाकाँडा, घोडाबाँधे र घुम्टे पहाड यी डोलोमाइटभन्दा धेरै राम्रो लाग्यो ।

म र मेरो गाउँलाई प्रकृतिले वरदान दिएर मात्र के गर्नु घरका गमला र वरिपरि फुल रोप्ने अनि सरसफाइ गर्न कहिल्यै सिकाइ भएन । प्रकृतिलाई पर्यटनसँग जोड्नलाई मेरो ठाउँका नेतालाई गफ गर्न आए पनि काम गर्ने छाँट नै आएन । मेरो गाउँ पनि कसरी बनोस, माथिल्लो घरे जेठोदेखि पुछाराघरे कान्छोसम्म डोलोमिटी जस्तै ठाउँका होटेलमा भेटिन्छन् ।

अनि त मेरो गाउँ पनि कसरी डोलोमिटी जस्तै बनोस । हुन त गाउँमा बुढा भएका बुबाआमाहरुले धन्न यतिसम्म त गरेका छन् । खै प्रा. मार्कोले वन जंगलको अनुमान लगाए जस्तो मेरो गाउँको अनुमान लगाउने हो भने त अबको बीस वर्षपछि मेरो गाउँमा कस्तो होला । सम्झँदा पनि मन झसँङ्ग हुन्छ ।

कोर्टिनाको गाउँ हेर्दै घुम्दै करिब २२०० मिटरको पासो जिआउमा पुगियो । अनेक थरिका नाम भएका डोलोमाइट्सका पहाडहरु देखिए । प्राध्यापकहरुले त्यस पासो जिआउबाट बोट बिरुवा चिनाउदै ओरालो झारे । मेडिटेरेनियन क्षेत्र भएकोले मेरो गाउँको वन जंगलभन्दा प्रजातिहरु नै बेग्लै थिए । हेर्दै जाँदा गुराँसका साना प्रजाति यहाँ भेटिदा अचम्ममा परँे ।

प्राध्यापक मार्कोले मलाई तिम्रो देशमा जत्रा ठूला र धेरै गुराँस प्रजाति होइन यहाँ त साना दुई प्रजातिका पाइन्छन् भने । मेरो गाउँमा त अनेक थरिका फुलफुल्ने ठिक्क उचाइका गराँस पाइन्थे तर यहाँ त कस्तो बामपुड्के गुराँसका प्रजाति ।

पाइनस मुङ्गो प्रजातिका पुड्के सल्लाहरु पनि । जति हेरे पनि जहाँ घुमे पनि मेरै गाउँको पालेवनमा पाइने जति प्रजातिका वनस्पति नभेटिने । प्रा. मार्को पनि सगरमाथा क्षेत्रका रुखहरुको उमेरबारे अध्ययन गर्न नेपाल आएका रहेछन् । त्यसैले त पढाउँदा हिमालय क्षेत्रको उदाहरण दिंदै भन्ने गर्दथे । पाँच किलोमिटर लामो मोटर बाटो हिँड्दै विविध किसिमका वन जंगलको अध्ययन गर्दै थकित भई उही सान भिटोको होटेलमा आइ बास बसियो ।

पादोभा फर्किने दिन अनुसन्धान केन्दमा मार्कोले रुखहरुको उमेर पत्तालगाउने विधिका बारेमा सिकाए । अनि फेरि रुख बिरुवा हेर्दै डाडोमा पुग्दा इटाली र अष्ट्रिया बीच भएको पहिलो विश्व युद्घ कालका रुखहरु र उति बेलाको परिवेश बारे सुनाए । वन जंगल, बाटो र सुन्दर बस्तीले मेरो मनलाई लिनारो पुगुन्जेल आनन्द दिलाइरहे ।

डोलोमाइट्समा पत्रेदार चट्टानहरुमात्र नभएर इतिहास पनि जोडिएको थियो ।भुगोल अनि प्रकृति पनि विल्कुलै भिन्दै थियो । सबैभन्दा मननयोग्य कुरा त प्रकृतिको सही व्यवस्थापन थियो, जसले गर्दा डोलोमाइट्सको पर्यटनलाई प्रवर्धन गरिरहेको थियो ।

डोलोमाइट्सको तीन दिनमा धेरै कुरा देखियो । जे देखे पनि यहाँभन्दा मेरै गाउँ वरिपरिका हरिया डाँडा काँडा अनि घुम्टे पहाड नै राम्रो । मेरै गाउँमा यहाँका भन्दा धेरै प्रजातिका बोट बिरुवा अनि वन्यजन्तुहरु । तर किन मेरो गाउँ पनि डोलोमाइट्स जस्तै बन्न सकेन आफै एकछिन घोत्लिएर साँेचे । आखिर प्राकृतिक स्रोत साधनको सही उपयोग तथा मानवीय स्रोत व्यवस्थापन नै विकासको मुख्य आधार रहेछ ।

आफूसँग सुनको थाल भए पनि मेरो गाउँ परनिर्भर छ । डोलोमिटी जस्ता ठाउँहरुबाट विप्रेषण (रेमिटान्स) नपुगी खान लाउन नै पुग्दैन ।दिगो प्राकृतिक स्रोत व्यवस्थापन कार्य नजान्दा मेरो गाउँ विनासतर्फ धकेलिएको छ । काम गर्ने माथिल्ला घरे ठुलारेदेखि तल्लोघरे कान्छोसम्म डोलोमाइट्स जस्तै कुना कन्दरामा पुगुन्जेल मानवीय स्रोत मेरो गाउँले कसरी पाउनु । अनि कसरी बनोस त मेरो गाउँ डालोमाइटभन्दा राम्रो । हे पशुपति नाथ मेरो देशलाई प्रकृतिले सबै थोक दिएको छ, अब तिमीले हामीलाई प्राकृतिक स्रोत व्यवस्थापन गर्ने सदबुद्धि देऊ ।

लेखक प्रकाश थापा

थापा इटालीको पादोभा विश्वविद्यालयमा प्राकृतिक स्रोत व्यवस्थापन विषयमा स्नातकोत्तर तहमा अध्ययनरत छन् ।

यहाँका सम्पूर्ण तस्विरहरु डोलोमाइट क्षेत्रमा लिईएको हो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung