१२ कार्तिक २०८३, बुधबार

 

सिद्धथान डाँडामा १० लाखको लागतमा पिकनिक पार्क

गलकोटको पाण्डवखानी सिद्धथान डाँडालाई बनभोज (पिकनिक) पार्क बनाइएको छ । झण्डै १० लाखको लागतमा सिद्धथान डाँडामा बनभोज गर्ने स्थान निर्माण गरिएको हो ।

गलकोट नगरपालिकाबाट गत बर्ष बिनियोजित १० लाखको बजेटबाट ५ रोपनी जग्गामा तारबार गर्नुका साथै ३ ओटा तहरा समेत निर्माण गरिएको छ ।

मेला लाग्ने ठाउ सँगै जोडिएको उक्त स्थानलाई बिकास गर्नका लागी वाड कार्यालयले बिशेष योजना बनाएको वाड अध्यक्ष तिलक घर्तिले बताए । घर्तिका अनुसार उक्त स्थानमा पहिलो चरणमा प्रवेशद्धारा, बगैचा, खानेपानीको ब्यवस्था गर्ने बताए ।

वडालाई समृद्ध गराउनका लागी सिद्धथानलाई बनभोज स्थलको रुपमा बिकास गनुपर्ने आवश्यकता देखिएको घर्तिको भनाई छ ।
नजिकै करिब १ लाख ५० हजारको लागतमा महिला र पुरुषका लागी शौचालय समेत निर्माण गरेका बताए ।

पर्यटकीय क्षेत्र घुम्टे जाने बाटोको आडैमा भएर पनि प्रचुर सम्भावना बोकेको पर्यटकीय क्षेत्र सिद्धथान ओझेलमा परेको स्थानीयहरुको गुनासो छ ।

पाण्डवखानीका बिभिन्न क्षेत्रहरु सँगै रिघा, गुल्मिका बिभिन्न भागको दृश्य देख्न सकिने सिद्धथान महत्वपूर्ण पर्यटकीय क्षेत्र हो । तर प्रचार प्रसारको अभावमा आन्तरिक पर्यटक समेत निकै न्युन देखिएको छ । भौतिक पूर्वाधारको विकास नुहुँदा पर्यटकलाई त्यहाँ पुग्न समस्या हुने गरेको छ ।

अग्लो स्थान भएकाले सिद्धथान मनोरम हिम श्रृंखला अवलोकन गर्न सकिन्छ । प्रत्येक बर्ष बैशाख पुर्णिमाका दिन उक्त स्थानमा मेला लाग्ने गरेको छ ।

समथर भुभाग भएका कारण पनि सिद्धथान बनभोज स्थलका लागी उपयुक्त गन्तब्य मानिएको समाजसेवी मानसिङ छन्त्यालले बताए । समृद्धि सतहदेखि करिब १९ सय मिटर उचाईमा रहेको सिद्धथान डाडाँमा प्रत्येक बर्ष बिद्यालय, बिभिन्न संद्य, सस्था, आमा समुह, क्लबहरु बनभोजका लागी जाने गरेका छन् |

मन्दिर र पोखरीको समेत संरक्षण गर्न सके आन्तरिक र बाह्य पर्यटन प्रबद्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । गलकोटको महत्वपूर्ण धार्मिक एवं पर्यटकीय स्थल घुम्टे, निलुवा लगायतका ठाउमा घुम्न आउने पर्यटकहरुलाई सिद्धथान घुमाउनसके गलकोट नगरपालिकाको आर्थिक गतिविधिमा वृद्धि हुन सक्ने स्थानीयको भनाई छ । सिद्धथान सहित समग्र गलकोटको पर्यटकीय क्षेत्रको विकास लागि गुरुयोजना बनाएर अघि बढ्ने सोँच रहेको गलकोट नगरपालिकाका नगरउपप्रमुख रेनुका काउचा मगरले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung