सलमान खानपछि बलिउडका बादशाह शाहरुख खानलाई पनि धम्की दिइएको छ । उनलाई कलिंगा सेनाले धम्की दिएको हो । सो संगठनको उडिसा शाखाले शाहरुख खानलाई हकी वर्ल्ड कपमा आए मुखमा मसी फ्याँक्ने बताएको थियो । जसका कारण भारतीय प्रहरीले उनको सुरक्षाव्यवस्था कडा पारेको छ ।
कालिंगा समूहका नेता हेमन्त रथले शाहरुख खानको फिल्म अशोकाले उडिसाका स्थानीयको अपमान गरेको बताएका छन् । सो फिल्म १७ वर्षपहिले रिलिज भएको थियो । ‘हाम्रो संगठनले यससँगसम्बन्धी रिपोर्ट पनि पुलिसमा दर्ता गरेको थियो,’ हेमन्त रथले भनेका छन् ।
भुवनेश्वरको डिसिपी अनुप साहुले हक्की विश्वकपका वेला शाहरुख खानको सुरक्षामा राम्रो ध्यान दिइने बताए । तर, शाहरुख त्यहाँ जाने/नजाने निश्चित छैन । त्यसो त यो विवाद फिल्म रिलिज हुनेबित्तिकै सन् २००१ मा पनि भएको हो । शाहरुख खानले उडिसा राज्यका नागरिकको इतिहास मेटाउने कोसिस गरेकाले माफी माग्नुपर्ने उनीहरूको माग थियो । उडिसामा २८ नोभेम्बरदेखि १६ डिसेम्बरसम्म हक्की विश्वकप हुँदै छ ।
















































































































































































