९ कार्तिक २०८३, आईतवार

 

न्याय मरेको मेरो देश

१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानमा एउटा कार्यक्रम गर्नु छ, कस्तो कार्यक्रम गर्ने होला ? भान्सामा तरकारी केलाउँदै भाउजुलाई सुनाइरहेकी थिएँ । सबै घर परिवारमा मेलमिलाप भइरहने, स्कूल कलेजबाट फर्किरहेका छोरी चेलीहरुमा कसैको गिद्देनजर नपर्ने र राज्यले सबै नागरिकलाई समान व्यवहार गर्ने हो भने त अब यस्ता खालका अभियानका नाममा गरिने कार्यक्रम नगर्दा पनि हुँदैन र मैयाँ रु भान्सामा रोटी पोल्दै भाउजूले जवाफ दिनुभयो, हामी नन्द भाउजूको यस्तै गन्थन चलिरहेको बेलामा ८२ वर्षीय पिताजी पनि भान्सामा छिर्नु भयो र भन्नु भयो– नानी यी अभियानका नाममा गर्ने कार्यक्रम बन्द गर ।

निर्मला पन्तको बलात्कारपछि हत्या भएको पनि ४ महिना भइसक्यो । खै निर्मलाको परिवारले न्याय पाएको ? पानीपुरी र चनाचटपट बेचेर आफ्ना छोरीहरु धौधौले पालिरहेकी श्रमजीवि दुर्गादेवी पन्तलाई सन्तान वियोगको शोक त थियो नै प्रहरी प्रशासनको लापर्वाही र सरकारको लाचारीपनले पति यज्ञ पन्तको मानसिक असन्तुलनको पीडा पनि थपिदिएको छ । हुँदाखाँदाकी कलकलाउँदी छोरी बलात्कारीले लुछ्यौ, छोरीका लागि न्याय माग्दा माग्दा श्रीमन् विक्षिप्त भएर अस्पतालको शैयामा छन् ।

एकातिर ममता र वात्सल्यको घाउ, अर्कोतिर श्रीमान्को यो अवस्था, कस्तो कठिनपूर्ण र दर्दनाक जीवन बाँचिरहेकी छिन् निर्मलाकि आमा । तिम्रो कार्यक्रमले निर्मलाको परिवारलाई के दिन सक्छ र रु व्यर्थ छ तिमीहरुको अभियान पनि ।

पिताजी झनझन भावुक बन्दै यस्तै यस्तै कुराहरु गरिरहनु भयो । निर्मला पन्तको विषयमा उहाँ धेरै चिन्तित हुनुहुन्छ । ८२ वर्षको त्यो वृद्ध अवस्थामा पनि टेलिभिजनका सबै समाचारहरु हेर्नुहुन्छ । दैनिक पत्रिकाहरु पुरै पढेर सक्नुहुन्छ, हरेक दिन विविसी सुन्नुहुन्छ । यी सबै माध्यमहरुबाट निर्मला पन्तको बलात्कार र हत्या प्रकरणको विषयमा धेरै जानकारी राख्नुहुन्छ । आफ्ना १० जना सन्तानलाई उचित शिक्षा दिक्षा र संस्कार दिएर समाजमा कुशल पिताको रुपमा प्रतिष्ठित हाम्रो पिताजी र निर्मला पन्तका पिताजी यज्ञ पन्तमा कुनै फरक छैन । संसारका हरेक मातापिताले आफ्ना सन्तानका लागि मिठो सपना देखिरहेका हुन्छन् ।

जीवनका स–साना खुशीहरु बटुलेर आफ्ना सन्तानको पोल्टामा राखिदिन हरेक बाबुआमा आतुर र लालयित बन्छन् । हरेक व्यक्तिका लागि आफ्नो सन्तान नै त्यस्तो चीज हो जसको कुनै मूल्य हुँदैन । सायद सन्तान वियोगको घटना सहन नसकेर नै होला, निर्मलाका पिता यज्ञ पन्त असमान्य व्यवहार देखाउने भएका छन् ।
भएका प्रमाणहरु नष्ट गर्ने, झुठा प्रमाण बटुल्न प्रयत्न गर्ने, यातना दिने र न्याय माग्दा गोली चलाउनेजस्ता निकृष्ट कार्यहरुले राज्यप्रति नागरिकको विश्वास घट्दै गएको छ । अपराधीको रुपमा सामान्य व्यक्ति नभई पद, पोजिशन र पावरसँग नजिक रहेका व्यक्तिहरुको साँठगाँठ भएको घटनाक्रमले नै पुष्टि गरेको छ । होइन भने यतिका दिनसम्म अपराधीलाई समात्न किन सकिँदैन रु प्रहरी प्रशासन किन मुकदर्शक बनेको छ? देशमा दुईतिहाई बहुमतको बलियो सरकार छ । नेपाली जनताले रगतले साटेको गणतन्त्रको मुकुट राष्ट्रपति पदमा पदाशिन व्यक्ति पनि महिला हुनुहुन्छ ।

समय फेरियो, व्यवस्था फेरियो तर संस्कार फेरिएन । कठिन वर्गसंघर्षको पाठशालाबाट दीक्षित हुनुभएकी महामहिम राष्ट्रपति विद्यादेवी भण्डारीलाई निर्मलाको भन्दा आफ्ना लागि सेवा सुविधाको चिन्ता भएकोजस्तो देखिन्छ । उता स्थायित्व र विकासका लागि जनताले दिएका दुईतिहाई बहुमतको सरकार नयाँ युगको शुरु भएको घोषणा गर्दछ । राजधानी शहर काठमाडौंमा श्वास फेर्नका लागि शुद्ध हावा छैन, ढल र नालीमा बलियो ढकनी छैन, पोल्टाकी छोरी मृत अवस्थामा उखुको झ्याङमा भेटिँदा न्याय छैन, यसरी पनि नयाँ युगको थालनी हुन सक्छ र?
सन् १९७९ मा मदर टेरेसाले नोबेल पुरस्कार प्राप्त गरिसकेपछि उनलाई सोधिएको थियो, विश्वमा शान्ति कायम गर्न के गर्नु पर्छ रु उनको जवाफ थियो– सर्वप्रथम तिमी आफ्नो घर जाउ र परिवारसँग प्रेम बाँड । प्रेमको अभाव नै हिंसा हो । तर यहाँ त अपराधी त अपराधी नै भयो राज्यले पनि आफ्ना नागरिकलाई प्रेम बाँड्न सकेन । राज्य साझा संस्था र सबैको अभिभावक बन्न सकेन । पद, पोजिशन र पावरका आधारमा अपराधीलाई संरक्षण गरिएको छ । सामान्य परिवारका पीडितहरु न्यायका लागि भिख माग्दा माग्दा विक्षिप्त भइसकेका छन् र भन्न बाध्य छन् “न्याय मरेको मेरो देश” ।

 शकुन्तला शर्मा नेपाल ट्रेड युनियन काँग्रेस राष्ट्रिय महिला समितिकी उपाध्यक्ष हुन्

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung