बिनोद जेठोरा टेक्ससस्थित सेन्ट जोसेफ अस्पतालमा उपचाररत छन्
अमेरिकाको टेक्सस राज्यमा अज्ञात व्यक्तिको गोली प्रहारबाट एक नेपाली युवा गम्भीर घाइते भएका छन्।
गोली लागि गम्भीर घाइते भएका धनगढीका बिनोद जेठोराको टेक्ससस्थित सेन्ट जोसेफ अस्पतालमा उपचार भइरहेको छ। अमेरिकी समयअनुसार सोमबार बिहान टेक्ससको ब्रायनस्थित पेट्रोल पम्पमा उनीमाथि गोली प्रहार भएको हो। जेठारा सो पेट्रोल पम्पमा एक वर्षदेखि काम गर्दै आएका थिए।
‘छातिमा गोली लागेका उनको अवस्था गम्भीर रहेको छ’ अमेरिकामा रहेका पत्रकार किशोर पन्थीले लेखेका छन्।
टेक्सस प्रहरीले जेठारामाथि गोली प्रहार गर्ने व्यक्तिका खोजी भइरहेको बताएको छ। कालो कोट र रातो टोपी लगाएका अश्वेतले गोली प्रहार गरेको क्लोज सर्किट क्यामेरा फुटेजमा देखिएको छ। बिहान हतियारसहित आएको व्यक्तिले काउन्टरमा गएर नजिकैबाटै जेठारामाथि गोली प्रहार गरेको थियो।
गोली लागेपछि फोन गरेर पेट्रोल पम्पका मालिकलाई खबर दिइएको थियो।
उनका श्रीमती र तीन वर्षिया छोरी नेपालमै छन्। दुवै नेपालबाट अमेरिका जाने प्रक्रियामा रहेका छन्। अमेरिकामा रहेका नेपालीहरुले जेठाराका परिवारलाई सहयोगका लागि आर्थिक संकलन शुरु गरेका छन्।
एकान्त स्थानमा रहने अमेरिकाका पेट्रोल पम्पहरु लुटेराहरुको आक्रमणका निसाना बन्दै आएका छन्।
केही वर्षदेखि अमेरिकामा बस्दै आएका पत्रकार पन्थीकाअनुसार अमेरिकामा पछिल्लो १४ वर्षमा ग्याँस स्टेसन(पेट्रोल) वा कन्भिनेन्स सेन्टरहरुमा कम्तिमा १४ जना नेपालीको हत्या भैसकेको छ। अधिकांश घटना रातको समयमा हुने गरेका छन्।



















































































































































































































