१६ बैशाख २०८१, आईतवार

 

सिरियाबाट फर्किन थाले अमेरिकी सैनिक, आईएस लडाकु हारेको निष्कर्ष

५ पुस, काठमाडौं । अमेरिकाले सिरियामा तैनाथ आफ्ना स्थल सैनिक फिर्ता गर्न सुरु गरेको छ । इस्लामिक स्टेट (आईएस) परास्त भएको भन्दै उसले त्यहाँ रहेका आफ्ना सैनिक फिर्ता गर्न थालेको हो ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस र रक्षा मन्त्रालय पेन्टागनले विज्ञप्ति जारी गर्दै सैनिक फिर्ता अभियान सुरु भएको जनाएका छन् । यद्यपि, उनीहरुले विस्तृत विवरण भने खुलाएका छैनन् ।

अमेरिकाले आईएसविरुद्धको संघर्षमा सघाउन करिब २ हजार सैनिक सिरियाको उत्तर–पूर्वी क्षेत्रमा खटाएको थियो । तर, ट्रम्प प्रशासनले आईएस पराजित भएको तर्क अघि सार्दै आफ्ना सैनिक फिर्ता थालेको छ ।

सैनिक फिर्तासँगै उसले अर्को अभियान सुरु हुने बताएको छ । त्यस्तो नयाँ अभियान कस्तो हुनेछ भन्नेबारे भने केही खुलाइएको छैन ।

बीबीसीका अनुसार, अमेरिकाले आफ्ना सैनिक फिर्ता बोलाए पनि सुरक्षा अधिकारीहरु अझै त्यहाँ आफ्नो उपस्थिति जनाउन चाहन्छन् । त्यहाँ अमेरिकी उपस्थिति नहुँदा आईएसले पुनः गतिविधि सञ्चालन गर्न सक्ने भय उनीहरुमा छ ।

सिरियामा जारी द्वन्द्वमा अमेरिकासँगै रसिया र इरानसमेत संलग्न रहँदै आएका छन् । अमेरिकी सेना फिर्ती अभियान सुरु भएसँगै त्यहाँ रसिया र इरानको प्रभाव बढ्न सक्ने चिन्ता व्यक्त हुन थालेको बीबीसीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्