गलकोटमा पहाडि भुभाग भए पनि यहाँका सबै गाउँ ट्याक्सी चढेर घुम्न पाइन्छ । बस र जिप चल्न नसक्ने सडकमा पनि ट्याक्सी चल्छन् । गलकोटमा बिदेशबाट फर्कने अधिकांश ब्यक्तिहरु ट्याक्सी चढेर घरमै पुग्न पाउँदा दंग पर्छन । तीन वर्षअघि स्वदेश आउँदा ट्याक्सी नचले पनि अहिले सुविधा थपिएको बिदेशबाट फर्कने गलकोटेहरुको भनाई छ ।
गलकोट सडकको हिसाबले नमुना मानिन्छ । जहाँ टोलैपिच्छे सडक खनिएका छन । निजी लगानी र चन्दा उठाएर गाउँलेले आँगनमै बाटो पुर्याएका छन् । अधिकांश सडकमा ट्याक्सी गुड्छन् । बिरामी परेका बेला र अन्य कामले हटियाबाट सबैले ट्याक्सी बोलाउँछन् । गलकोटको हटियामा आएका यात्रुले बजारमा रात बिताउनु पर्दैन ।
दशकअघिसम्म बागलुङ बजारमा गाडिबाट ओर्लेपछि भरियालाई भारी बोकाएर पैदल हिँडेर घर आइपुग्न दिनभर लागेको गलकोटका बुढापाका बताउछन । गाउँमा मोटरबाटो, बिजुली, इन्टरनेट सबै सुविधा छ । स्कुल, स्वास्थ्यचौकी छन । गाउँमा बारिमा उब्जेको ताजा तरकारी खान पाइन्छ, स्वच्छ हावापानी छ, सहरमा बसाइँ सर्नु पर्दैन ।
चालक तारा बहादुर बिकले गलकोटका सबैजसो बाटोमा ट्याक्सी कुदाएका छन् । ‘ट्रयाक्टरले अलि बाटो बिर्गाछ, वर्षामा खाल्डाखुल्डी र हिउँदमा धूलो तर्काएर भए पनि यात्रुलाई गन्तव्यमा र्पुयाउँछौं,’ उनले भने, ‘धेरैका घर जाने साँधुरा बाटा छन । त्यसमा जिप तथा बस जान सक्दैनन् । हामी जान्छौं ।’
यात्रुले जति बेला फोन गरेर बोलाए पनि सेवा दिन तयार रहेको उनले बताए । गलकोट यातयात प्रालिका महासचिव गगन कुबरका अनुसार चार वर्षअघि गलकोटमा एउटा ट्याक्सी भित्रियो । त्यसपछि क्रमश थपिदै गएका हुन । गलकोट नगरपालिका वाड नम्बर ४ मा अन्य वाडमा भन्दा बाटो राम्रो भएको चालक बताउछन । वाड नम्बर ४ को चमुवा, खरुवा, नुवाकोट सजिलै ट्याक्सी लैजान सकिने बताउछन ।



















































































































































































































