पर्वत | जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतको आयोजनामा सवारी साधनका धनी, चालक र सहचालकहरुको लागि भिडियो प्रदर्शनी गरिएको छ ।
कुश्माको शिवालयचोकमा आज साँझ स्थानीय नागरिकहरु सहितको उपस्थितिमा सवारी संचालकहरुलाई भिडियो प्रदर्शनी सहित मौखिक प्रशिक्षण पनि दिईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख रामकृष्ण गौलीले जानकारी दिनुभायो ।
भिडियो प्रदर्शनी तथा प्रशिक्षण कार्यक्रममा बोल्दै ट्राफिक प्रहरी प्रमुख गौलीले सवारी संचालक देखि नागरिकहरुलाई पनि ट्राफिक नियम उल्लघंन नगर्न अनुुरोध गर्नुभयो । सबैले ट्राफिक नियम मानेका कारण नै पछिल्लो समयमा पर्वत जिल्लामा दुर्घटनाका घट्नाहरु कम भएको उल्लेख गर्दै उहाँले अझै पनि सचेतनाको आवश्यकता परिरहेको बताउनुभयो ।
कार्यक्रममा सहभागी भएकाहरुले ट्राफिक प्रहरीले दिएको प्रशिक्षणबाट ट्राफिक नियमहरुको बारेमा जान्ने मौका मिलेको बताएका छन । कार्यक्रममा सडक दुर्घटना हुन सक्ने सम्भावित कारणहरु र तिनलाई न्यूनिकरण गर्न सकिने उपायहरुको बारेमा जानकारी गराईएको थियो ।
कार्यक्रममा टयाक्सी व्यवसायी संघ पर्वतका अध्यक्ष गणेश क्षेत्रीले पनि बोल्नुभएको थियो ।



















































































































































































































