४ कार्तिक २०८३, मंगलवार

 

आज राष्ट्रिय टोपी दिवसः ६ वर्षअघि टोपी दिवसकाे सुरुवात यसरी भएकाे थियाे

आज राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदैछ। नेपाली टोपीको प्रवर्द्धन गर्ने उद्देश्यले ६ वर्ष अघिदेखि अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो।

ढाका टोपी नेपालको राष्ट्रिय पोशाक पनि हो। ढाका टोपी घरेलु तानमा हातले बुनेको कपडाबाट बनाइएको हुन्छ।

प्रायः दौरा सुरूवालको साथमा ढाका टोपी लगाउने गरिन्छ। ढाकाटोपीले नेपाली जातीको पहिचान झल्काउँछ। पाल्पाली ढाकाटोपीलाई देशकै उत्कृष्ट ढाकाटोपी मानिन्छ।

विशेषतः भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिइन्छ। तर, नेपालका विभिन्न समुदायले आफ्नो पहिचान र परम्परा झल्किने खालका विभिन्न टोपी लगाउने गरेका छन्।

नेपालमा धेरै प्रकारका टोपीहरु हजारौं बर्ष देखि लगाउने गरिएको छ। ढाका टोपी धेरै प्रकारका टोपी मध्येको एक नेपाली टोपी हो।

टोपी दिवसको सुरुवात कसरी भयो?
सन् २०१३ नोभेम्बर २६ मा सामाजिक संजाल फेसबुकमा डा. लेखनाथ काफ्ले र शंकर बन्जाडेले सार्वजनिक पेज स्थापना गरी पहिलोपटक जनवरी १ लाई अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस र नेपाली टोपी लगाउने दिनको रुपमा घोषणा गरेका हुन्।

सो घोषणामार्फत् काफ्ले र बन्जाडेले सबैलाई नेपाली टोपी लगाउन आह्वान गरे। उनीहरुकै घोषणा अनुसार सन् २०१४ देखि जनवरी १ तारिकका दिन नेपालमा अन्तर्राष्ट्रिय टोपी दिवस मनाउन थालिएको हो।

विश्वका विभिन्न देशमा छरिएर रहेका नेपालीले आज नेपाली टोपी लगाएर यो दिवस मनाउँदैछन्।

अन्तर्राष्ट्रिय टोली दिवसले नेपालीपनको प्रबर्द्धन हुने र देशभित्र पनि आफ्नो संस्कृतिको थप प्रबर्द्धन र प्रचार– प्रसार गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।

कतिपय संस्थाले आज सामुहिक रुपमा टोपी लगाउने कार्यक्रम नै आयोजना गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung