राष्ट्रिय सहकारी बैंक लिमिटेडले आफ्ना सदस्य सहकारी संघ संस्थाहरुलाई १५ प्रतिशत लाभांश दिने भएको छ ।
बैंकको १५ औं वार्षिक साधारणसभाले सदस्य संघ संस्थाको शेयर लगानीमा १५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
आर्थिक वर्ष २०७४÷०७५ को कारोबारबाट संस्थाले २८ करोड, ८९ लाख ७४ जार ५ सय ९२ रुपैया नाफा गरेको बैंकले संरक्षित पूँजिकोष लगायत विभिन्न कोषहरु कटाएर १४ करोड १० लाख ८२ हजार ७ सय ८ रुपैया प्रस्तावित लाभांशबाट देशभरका १० हजार भन्दा बढी सहकारी संघ संस्थाहरुलाई शेयर लगानीको १५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । सहकारी ऐन अनुसार २५ प्रतिशत संरक्षित पूँजिकोषमा छुट्टयाइएको र उक्त रकम सदस्य संस्थाहरुले बैंकमा गरेको कारोबारका आधारमा वितरण गरिने बैंकका नवनिर्वाचित अध्यक्ष के.बी.उप्रेतीले जानकारी दिनुभयो ।
बैंकमा गत आर्थिक वर्षको अन्त्यसम्म १ अर्ब ४ करोड २२ लाख २२ हजार शेयर पूँजि, ४१ करोड ९७ लाख जगेडा तथा कोषहरु, १९ अर्ब, ९६ करोड २९ लाख ८८ हजार ७ सय ९ निक्षेप र १२ अर्ब, ४४ करोड ८५ लाख २६ हजार २ सय २४ रुपैया कर्जा लगानी रहेकोछ ।
साधारणसभाले सहकारी क्षेत्र जाने सम्पूर्ण बजेट सहकारी बैंक मार्फत परिचालन गर्न नेपाल सरकारसंग माग गर्ने लगायत सहकारीलाई आर्थिक विकास र सामाजिक रुपान्तरणको महत्वपूर्ण माध्यम बनाउने गरी नीति नियम बनाउन तथा आर्थिक लगायत आवश्यक सहयोग गर्न माग गरेको बैंकका सञ्चालक रामबहादुर जि.सी.ले जानकारी दिनुभयो ।
बैंकको पुस २१ र २२ गते काठमाडौंमा सम्पन्न १५ औं वार्षिक साधारणसभाबाट के.बी.उप्रेतीको नेतृत्वमा १५ सदस्यीय सञ्चालक समिति र लक्ष्मीप्रसाद उप्रेती रहेको ३ सदस्यीय लेखा समिति निर्वाचित भएको छ ।
सञ्चालक समितिका सदस्यहरुमा सरिता भट्टराई, हरिहरनाथ योगी, रामबहादुर जि.सी, रामहरी बजगाई, ज्ञानबहादुर तामाङ, अमृता सुब्बा, पार्वती थापा मगर, केदार मानन्धर, ध्रुवनारायण यादव, माधवलाल देवकोटा, महेन्द्र कुमार गिरी, विश्वनाथ मण्डल, शिवा थापा र विजया धिताल निर्वाचित हुनु भएको छ । लेखा समितिका सदस्यहरुमा मित्रराज दवाडी र तारा गुरुङ रहनु भएको छ ।

































































































































































































