१ जेष्ठ २०८१, मंगलवार

 

बंगलादेशमा विपक्षी पार्टीलाई भोट दिएको आरोपमा ‘ग्याङ्ग रेप’

२४ पुस, काठमाडौं । बंगलादेशको हालै भएको संसदीय निर्वाचनमा विपक्षी पार्टीलाई मतदान गरेको आरोपमा एक महिलामाथि सामुहिक बलात्कार भएको छ । बलात्कार आरोपमा प्रहरीले सत्तारुढ अवामी लिग पार्टीका एक स्थानीय नेता राहुल अमिनसहित सात जनालाई हिरासतमा लिएको छ ।

बलात्कृत ३५ वर्षीया महिलाका चार सन्तान छन् । उनका अनुसार गत हप्ता भएको निर्वाचनमा विपक्षी बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी)को उम्मेदवारलाई भोट दिएको भन्दै सत्तारुढ अवामी लिगका नेता–कार्यकर्ताहरुले सामुहिक बलात्कार गरे ।

अभियुक्तहरुले भने बलात्कारको आरोप अस्वीकार गरेका छन् । यद्यपि आरोपी नेता राहुल अमिनलाई सत्तारुढ अवामी लिगले पार्टीबाट निस्कासित गरेको छ ।

पीडित महिलाका पतिले प्रहरीमा दिएको उजुरी अनुसार अवामी लिगको स्थानीय नेता राहुल अमिनसहितका केही व्यक्तिहरु आधा रातमा नोआखली जिल्लास्थित उनको घरमा जबर्जस्ती प्रवेश गरे । ति व्यक्तिहरुले उनीहरुका चार जना बच्चालाई बाँधे । त्यसपछि उनकी श्रीमतीलाई बलात्कार गरे । ति व्यक्तिहरु घरबाट बाहिरिएपछि छिमेकीहरुको सहयोगमा पीडित महिलालाई अस्पताल लगिएको थियो ।

खबरहरुका अनुसार त्यस दिन ति महिला भोट होला मतदान केन्द्र गएकी थिइन् । मतदान केन्द्रमा रहेका अवामी लिगका नेता राहुल अमिन लगायतले विपक्षी दलको उम्मेदवारलाई भोट नहाल्न भनेका थिए । त्यसबेला ति महिलाको अवामी लिगका स्थानीय नेता कार्यकर्ताहरुसँग सामान्य विवाद भएको थियो । जो मध्यराति आफ्ना केही साथीहरुका साथ उनको घरमा आए र बलात्कार गरेर फर्किए ।

सामुहिक बलात्कारको घटना सार्वजनिक भएपछि केही व्यक्तिहरुले राजधानी ढाका र नोआखलीमा प्रदर्शन गरेका छन् । धेरै व्यक्तिले सामाजिक सन्जालमा आक्रोश पोखेका छन् ।

बंगलादेशको विपक्षी पार्टी बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी)का नेता मिर्जा फखरुल अस्लाले पीडित महिलालाई भेटेपछि भने, ‘चुनावपछि भएका आक्रमणमा धेरै नेता कार्यकर्ताहरु घाइते भएका छन् । यतिसम्म कि चार बच्चाको आमालाई पनि छोडिएन । उनलाई ग्याङ्ग रेप गरियो ।’

सत्तारुढ अवामी लिगका स्थानीय नेताले आफ्नो पार्टी र आफ्ना समर्थकहरुमाथि लागेको आरोपको खण्डन गर्दै आएका छन् । तर, प्रहरीमा उजुरी परेपछि आरोपी राहुल अमिनलाई पार्टीबाट निस्कासित गरिएको छ ।

गत डिसेम्बर महिनामा भएको निर्वाचनमा विजयी भएपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिना लगातार तेस्रो पटक सत्तामा पुगेकी छन् । उनको पार्टी अवामी लिग र सहयोगी दलले ३०० भन्दा बढी सिट जितेका छन् । तर, विपक्षी गठबन्धनले केबल सात सिट जितेको छ ।

विपक्षीले चुनावमा धाँधली भएको दाबी गर्दै पुनः मतदानको माग गरेको छ । तर, निर्वाचन आयोगले धाँधली भएको भन्नेबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्