१ जेष्ठ २०८१, मंगलवार

 

माइक्रोसफ्ट र एप्पललाई पछि पार्दै अमेजन बन्यो विश्वकै मूल्यवान कम्पनी  

अमेरिकाको अमेजन कम्पनी विश्वकै सबैभन्दा मूल्यवान कम्पनी बनेको छ।

अन्य दुई अमेरिकी कम्पनी माइक्रोसफ्ट र एप्पललाई पछि पार्दै अनलाईन व्यापारिक कम्पनी अमेजन विश्वकै मूल्यवान कम्पनीको शीर्ष स्थानमा पुगेको हो।

याे कम्पनी २५ वर्षअघि स्थापना भएको थियो।

सोमबार अमेरिकी सेयर बजार बन्द हुँदा अनलाईन व्यापारको विशाल कम्पनी अमेजनको मूल्य ७ सय ९७ अर्ब अमेरिकी डलर पुग्यो। माइक्रोसफ्टको मूल्य ७ सय ८९ अर्ब डलर थियो। सोमबार अघि माइक्रोसफ्टनै अमेजन भन्दा अघि थियो। तर सोमबार अमेजनको शेयर ३ दशमलब ४ प्रतिशतले बढेपछि अमेजन मूल्यवान सूचीको शीर्ष स्थानमा पुगेको हो।

अमेजन मूल्यवान कम्पनीको सूचीमा शीर्ष स्थानमा पुगेको यो पहिलो पटक हो। यस पटक एप्पल कम्पनीले माइक्रोसफ्ट र अमेजनलाई टक्कर दिन सकेन। चीनसँगको व्यापार युद्धका कारण त्यसको सेयर बजारमा ह्रास आएको छ।
गतवर्ष हजार अर्ब डलरको पहिलो कम्पनी बनेको एप्पलको अहिलेको मूल्य ७ सय २ अर्ब डलर रहेको छ।

अमेजन कम्पनीका संस्थापक जेफ बेजोस हाल विश्वकै धनाढ्य व्यक्ति हुन्। ब्लुमबर्ग बिलिनियर इन्डेक्सका अनुसार उनीसँग व्यक्तिगत १ सय ३५ खर्ब डलर सम्पत्ति छ।

अमेजनले खाद्य उद्योग, मनोरन्जन उद्योग, फुटबल खेलको महँगो लिग इंग्लीस प्रिमियर लिग, एटिपी टेनिस जस्ता क्षेत्रमा लगानी गरेको छ।

प्रतिक्रिया दिनुहोस्