
म्याग्दीको रघुगंगा गाउँपालिका-३, घुमाउने तालमा विषालु घाँस खाएर एक दर्जन बाख्रा मरेका छन्।
स्थानीय बाख्रा पालक किसान अनिल शाहीका १२ वटा बाख्रा बिहीबार गोठमै मरेको अवस्थामा फेला परेका हुन्।
शाहीका अनुसार चरन क्षेत्रबाट ल्याएपछि घाँस नखाने, झोक्रिनेजस्ता लक्षण बाख्रामा देखिएका थिए। गोठभित्र धमाधम बाख्रा मर्न थालेपछि उनले
भेटेरीनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र (म्याग्दी)लाई जानकारी गराएका थिए। त्यसपछि केन्द्रका प्रमुख चिकित्सक जीवन आचार्यको नेतृत्वमा गएको टोलीले बाख्रा विषालु घाँस खाएका कारण मरेको ठहर गरेको हो।
बाख्रा मरेपछि करिब तीन लाख रुपैयाँ बराबर क्षति भएको किसान शाहले बताए।
केन्द्रका पशु प्राविधिक सुवास रेग्मीले दिएको जानकारीअनुसार चरन क्षेत्रमा पाइने विषाक्त घाँसकै कारण बाख्रा मरेका हुन्। ‘अज्ञात रोग वा महामारी होइन्, चरन क्षेत्रमा भेटिने विषालु घाँसको पहिचान नहुँदा बाख्रा मरे,’ रेग्मीले भने।
रेग्मीका अनुसार मरेका सबै बाख्रामा एकै किसिमको समस्या देखिएको छ । अरू पाँच बाख्राको भने उपचार भइरहेको उनले बताए।