१ जेष्ठ २०८१, मंगलवार

 

अमेरिकी राष्ट्रपति पदमा पहिलो हिन्दू दाबेदारी, डेमोक्र्याटिक सांसद तुलसीले दिने भइन् उम्मेदवारी

सन् २०२० को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा त्यहाँको हवाई राज्यबाट निर्वाचित प्रतिनिधि तुलसी गबार्ड डेमोक्र्याटिक पार्टीको तर्फबाट ट्रम्प विरुद्ध उम्मेदवारीको दाबेदारी पेश गर्ने समाचार आए यता उनको बारेमा भारतमा बहस सुरु भएको छ ।

धेरैले तुलसी भारतीय मूलकी रहेको भन्ने अनुमान समेत लगाएका छन् । तर उनको यो अनुमान भने अनुमान मात्र हो । न यी ३७ वर्षीया तुलसी गबार्ड भारतीय हुन् न उनको भारतसँग कुनै प्रत्यक्ष साइनो नै छ । त्यसो भए को हुन् त रु

सन् १९८१ मा अमेरिकी समोआमा जन्मिएकी तुलसी सबै भन्दा कम उमेरमा निर्वाचित प्रतिनिधि बन्ने इतिहास रचिसकेकी महिला हुन् । पहिलो पटक सांसद बन्दा उनको उमेर २१ वर्ष रहेको थियो ।

पहिलो हिन्दू सांसद
राज्यका सिनेटर माइक गबार्डकी छोरी तुलसीले बाल्यकालदेखि नै बहुसांस्कृतिक माहौल पाइन् । परिवारमा क्याथोलिक पूजाविधिका साथै ध्यान(मन्त्र र कीर्तनको पनि वातावरण रहेकाले उनमा हिन्दू धर्मप्रति आकर्षण पलायो र किशोरावस्थामा पुगेपछि उनले हिन्दू धर्म अपनाइन ।

सन् २००२ मा पहिलो पटक उनी हवाई प्रतिनिधिसभाको लागि निर्वाचित हुँदा उनको उमेर मात्र २१ वर्ष रहेको थियो । उनले आफ्नो पहिलो कार्यकालमा स्वच्छ ऊर्जाको प्रवर्धन गर्दै स्वच्छ तथा सौर्य ऊर्जाका निम्ति आवश्यक उत्पादनलाई कर छुट दिने कानून बनाउने विषयलाई समर्थन गरेकी थिइन्।

२००३ हवाई आर्मी नेसनल गार्डको स्वास्थ्य सेवा विभागमा मा भर्ना भएकी उनले एकवर्ष इराक युद्धको समेत अनुभव हासिल गरेकी छिन् ।

सन् २०१५ मा अमेरिकी सेनाको मेजर पदमा पुगेकी उनको वर्तमान समयमा पनि सेनासँग सम्बन्ध रहेको छ। उनले अमेरिकी राष्ट्रपति पदमा आफ्नो दाबेदारी पेश गरे लगत्तै भारतमा उनी ट्विटरमा चर्चित बनिन् । तर वास्तवमा भारतसँग उनको कुनै प्रत्यक्ष नाता छैन।

उनको आमाबुवा पनि भारतीय मूलका होइनन्। तर हिन्दू धर्मावलम्बी भएका कारण अमेरिकामा रहेका भारतीय समुदायले उनको समर्थन गर्ने गर्छ। त्यसमाथि तुलसीको नाममा अमेरिकी संसदमा पुग्ने पहिलो हिन्दूको रेकर्ड पनि रहेको छ। गत वर्ष अमेरिकी न्यूज च्यानलको एउटा कार्यक्रममा हिन्दूहरूको विरोधमा एक टिप्पणी गरिएपछि उनले कडा विरोध जनाएकी थिइन्।

मोदीसँग निकटता
तुलसी गबार्डलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका खास निकटस्थका रूपमा हेर्ने गरिन्छ । सन् २०१४ मा प्रधानमन्त्रीमा चुनिनु अघिदेखि नै गबार्डले मोदीको समर्थन गर्थिन्। अमेरिकी सरकारले सन् २००२ मा गुजरातमा भएका साम्प्रदायिक दङ्गाको कारण तत्कालीन गुजरात मुख्यमन्त्री नरेन्द्र मोदीलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउँदा अमेरिकी सरकारको उक्त निर्णयको विरोध गर्ने थोरै मात्र अमेरिकी नेताहरूमा तुलसी गबार्ड एक थिइन् ।

विवाहमा हिन्दू रितिरिवाज
हिन्दू धर्म मान्ने तुलसीले आफ्नो भारत यात्राका क्रममा प्रधानमन्त्री मोदीसँग भेटघाट गरेकी थिइन्। केही वर्ष पहिले हिन्दू रीतिरिवाजका साथ विवाह गरेकी तुलसी गबार्ड भारतीय प्रधानमन्त्री मोदीको अन्तर्राष्ट्रिय योग दिवससम्बन्धी पहलको समर्थक हुन्।

सर्वस्वीकार्य राजनीतिज्ञको रूपमा गबार्ड
गबार्डको राजनीतिक झुकावको कुरा गर्दा अमेरिकामा उनको छवि यस्तो नेताको रूपमा छ जसलाई रिपब्लिकन दलका मानिस पनि मन पराउँछन् । उनीहरूका अनुसार तुलसी त्यस्ती डेमोक्र्याटिक नेताहुन् जसलाई डेमोक्र्याटिक पार्टीका मानिस नियन्त्रण गर्न सक्दैनन्। सन् २०१६ मा उनले राष्ट्रपतिको चुनावताका डेमोक्र्याटिक पार्टीका तर्फबाट हिलरी क्लिन्टनको साटो बर्नी स्याण्डर्सको उम्मेदवारीको समर्थन गरेकी थिइन्। उनी त्यसअघि डेमोक्र्याटिक नेसनल कमिटिको उपाध्यक्ष रहेकी थिइन् ।

स्याण्डर्सलाई समर्थन गरेकै कारण उनले उक्त पदबाट राजिनामा दिएकी थिइन् । अमेरिकामा अर्को राष्ट्रपतीय निर्वाचन सन् २०२० मा हुनेछ। सामान्यतया पहिलो कार्यकाल चलाइसकेका राष्ट्रपति नै उनको दलको तर्फबाट दोस्रो कार्यकालका लागि उम्मेदवार हुने प्रचलन छ।

यसर्थ यदि तुलसीको दाबेदारी डेमोक्र्याटिक पार्टीभित्र स्वीकृत भए उनले उक्त निर्वाचनमा ट्रम्पको सामना गर्नु पर्ने हुनसक्छ। बिबिसी

प्रतिक्रिया दिनुहोस्