५ जेष्ठ २०८१, शनिबार

 

बेलायती प्रधानमन्त्रीलाई ठूलो धक्का, प्रस्तावित योजना सदनद्वारा अस्वीकृत, अविश्वास प्रस्ताव दर्ता

काठमाडौं । युरोपेली संघ ईयुबाट बाहिरिनेबारे बेलायती प्रधानमन्त्री थेरेसा मेले प्रस्तुत गरेको योजना संसद्ले अस्वीकृत गरेको छ ।

प्रधानमन्त्री मेले बेलायती संसद्मा प्रस्तुत गरेको योजनाको विपक्षमा ४३२ सांसदले मतदान गरेका छन् ।

उनको प्रस्तावमा २०२ सांसदले मात्र समर्थन गरेपछि सो प्रस्ताव अस्वीकृत भएको हो ।

प्रस्तावको विपक्षमा प्रधानमन्त्री मे कै कन्जरभेटिभ पार्टीका १ सय १८ जना सांसदले मतदान गरेका छन् ।

तर विपक्षी लेबर पार्टीका तीन सांसदले भने प्रस्तावको पक्षमा मतदान गरेका थिए ।

प्रधानमन्त्री मे ले आफ्नो योजना संसद्बाट पारित गर्न नसकेपछि ठूलो धक्का बेहोर्नुपरेको छ ।

यहीबीचमा विपक्षी लेबर पार्टीले सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको छ ।

लेबर पार्टीका नेता जेरेमी कोर्बिनले संसद्ले प्रधानमन्त्री मे को ब्रेक्जिटसम्बन्धी प्रस्ताव अस्वीकृत भएपछि सरकारप्रति सदनको विश्वास नरहेको भन्दै अविश्वासको प्रस्ताव पेश गरेको बताए । अविश्वासको प्रस्तावमाथि आज छलफल हुँदै छ ।

ब्रेक्जिटका विषयमा नराम्रोसँग पराजित भएपछि प्रधानमन्त्री मे को राजनीतिक भविष्यलाई लिएर प्रश्नहरु उठ्न थालेका छन् ।

तर, कतिपय सांसदले प्रधानमन्त्रीको एउटा प्रस्तावमा मात्र असहमति रहेकाले उनप्रति अविश्वास गरिहाल्नुपर्ने अवस्था नरहेको दाबी गरेका छन् ।

प्रधानमन्त्री मे ले सदनमा विश्वासको मत प्राप्त गर्न नसकेमा अर्को १४ दिनसम्म उहाँलाई पुनः विश्वासको मत प्राप्त गर्ने समय मिल्ने छ ।

त्यसबीचमा पनि कसैले विश्वासको मत प्राप्त गर्न नसकेमा बेलायतमा आम चुनावको घोषणा हुने बताइएको छ ।(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्