५ जेष्ठ २०८१, शनिबार

 

रुस, चीन र उत्तर कोरिया विरुद्ध अमेरिकी गुप्तचर संस्थाको प्रतिवेदन  

अमेरिकी गुप्तचर संस्थाले उत्तर कोरिया, रुस र चीन विरुद्ध एक प्रतिवेदन सार्वजनिक गरेको छ।

गुप्तचर संस्थाका निर्देशक डान कोट्सले मंगलबार ‘विश्वव्यापी खतरा मूल्यांकन’ प्रतिवेदन अमेरिकी सिनेटमा प्रस्तुत गरेका हुन्।

प्रतिवेदमा उत्तर कोरियाले पूर्ण रुपमा क्षेप्यास्त्र निशस्त्रीकरण नगर्ने जनाइएको छ। अमेरिका र उत्तर कोरियाबीच गत वर्षको जुन महिनामा क्षेप्यास्त्र निशस्त्रीकरण सम्बन्धी सम्झौता भएको थियो।

त्यसैको प्रगतिका लागि फेरी अमेरिका र उत्तरबीच दोस्रो शिखर वार्ता चाँडै हुँदैछ। यसबीचमा प्रतिवेदनले अमेरिकी सरकारले विश्वास गरे अनुरुप उत्तरले पूर्ण रुपमा क्षेप्यास्त्र निशस्त्रीकरण नगर्ने जनाएको छ।

प्रतिवेदनले उत्तर कोरियाली सत्ता हतियारको भरमा चल्ने राष्ट्र भएको संकेत गरेको छ। प्रतिवेदनले इरानले परमाणु हतियार विकास नगर्ने जनाएको छ।

यद्यपी प्रतिवेदनले रुस र चीन अमेरिकाको लागि खतरा हुनसक्ने जनाएको छ। साइबर आक्रमण गरी रुस र चीनले आगामी वर्ष हुने अमेरिकी राष्ट्रपतिय निर्वाचन प्रभाव पार्न सक्ने बताइएको छ।

सन् २०१६ को अमेरिकी राष्ट्रपतिय निर्वाचनमा समेत रुसले साइबर हमला गरेको आरोप लागेको थियो।

गुप्तचर संस्थाको प्रतिवेदनले मध्यपूर्वी क्षेत्रमा आतंककारी समूह आइएस समाप्त नभएको पनि जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि सिरियामा आइएस परास्त भइसकेको घोषणा गर्दै अमेरिकी सेना स्वदेश फिर्ता बोलाइसकेका छन्।

अमेरिका संभावित खतराबाट सचेत रहनुपर्ने प्रतिवेदनले सुझाव दिएको छ। एजेन्सी

प्रतिक्रिया दिनुहोस्