१७ बैशाख २०८१, सोमबार

 

पाकिस्तानमा जलाइयो भारतको झण्डा, उच्च सैनिक मञ्चको पनि बैठक बोलाइयो

५ फागुन, काठमाडौं । भारतले नियन्त्रण रेखा पार गरेर पाकिस्तानको भूमिमा आक्रमण गरेपछि आक्रोशित पाकिस्तानी जनताले भारतको झण्डा जलाएका छन् ।

भारतले बालाकोट क्षेत्रमा आक्रमण गरेपछि दुई देशबीच तनावको स्थिति सिर्जना भएको छ । भारत र पाकिस्तानका नेताहरु तथा सेना प्रमुखहरुको तीखा प्रतिक्रियाहरु आइरहेका छन् । साथै बिभिन्न रणनीतिक बैठक र प्रेस बि्रफिङको क्रम पनि जारी छ ।

नियन्त्रण रेखा पार गरेर आक्रमण गरेको आरोप दुवै देशले एकअर्कालाई लगाइरहेका छन् । भारतले आफ्ना लडाकु विमानले पाकिस्तानको भूमिमा प्रवेश गरेर आतंकवादी संगठन जैश ए मोहम्मदको मुख्यालय ध्वस्त पारेको र केही कमाण्डरहरु पनि मारिएको दाबी गरेको छ ।

तर, पाकिस्तानले भने यसलाई मनगढन्ते भन्दै कुनै भौतिक र मानवीय क्षति नभएको बताएको छ । बरु पाकिस्तानको सेनाले भारतले आक्रमण गरेको भनिएको स्थानको फोटो सार्वजनिक गरेका छन् जसमा जंगल क्षेत्र जस्तो देखिने ठाउँमा केही सल्लाका रुखहरु ढलेको देखिन्छ । पाकिस्तानी सेनाको भनाइअनुसार भारतीय वायु सेनाका विमान पाकिस्तानको भूमिमा प्रवेश गरेका थिए र पाकिस्तानी सेनाले लखेट्दा हडबडाएर केही बम खसेका थिए । भारतीय मिडियाहरुले भने पाकिस्तानमाथि भारतले धावा बोलेको र पाकिस्तान डराएको भन्ने ढंगले सनसनी समाचारहरु दिइरहेका छन् ।

भारतले आक्रमण गरेको खबरलगत्तै पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सुरक्षा परिषदको बैठक बोलाएका छन् । बैठकपछि पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशीले भारतले पाकिस्तानको सम्प्रभुताको उल्लंघन गरेको प्रतिक्रिया दिएका छन् । पाकिस्तानले भनेको छ- भारतको तर्फबाट भएको यो अनावश्यक आक्रमणको जवाफ पाकिस्तानले सही समय र सही स्थानमा दिनेछ ।

अब के होला भन्ने चासो बढिरहेको बेला पाकिस्तानले नेशनल कमान्ड अथ्योरिटी (एनसीए)को बैठक बोलाएको छ । निकै महत्वपूर्ण भनिएको यो बैठकले ठूलै निर्णय लिने अनुमान गरिए पनि निर्णय यही नै आउँछ भन्ने ठोकुवा भने कसैले गर्न सकेका छैनन् ।

एनसीए के हो ?

एनसीए पाकिस्तानको उच्च सैनिक मञ्च हो जहाँ देशको सुरक्षा नीतिसँग जोडिएका ठूला निर्णयहरु हुन्छन् । पाकिस्तानको परमाणु हतियारको सन्चालनको निर्णय पनि एनसीएले नै लिन्छ ।

रणनीतिक रुपमा महत्वपूर्ण परमाणु र मिसाइल सम्बन्धी सबै नीतिगत मुद्दाहरुमा निर्णय लिने उच्चतम प्राधिकरण हो एनसीए । साथै यसले परमाणु र मिसाइल कार्यक्रमको रेखदेख पनि गर्दछ ।

युद्ध र तनावको स्थितिमा एनसीएले सेनाको तैनाथीको निर्णय पनि लिन्छ । यसमार्फत नीति निर्माण, सैन्य अभ्यास, सेनाको तैनाथी, अनुसन्धान र विकास तथा पाकिस्तानको परमाणु हतियारको सञ्चालन र नियन्त्रण सम्बन्धी निर्णय पनि हुन्छ ।

यसमा राजनीतिक र सैन्य दुवै नेतृत्व सदस्य रहन्छन् । प्रधानमन्त्री यसको कार्यकारी प्रमुख हुन्छन् । रक्षा मन्त्री, विदेशमन्त्री, स्थल, वायु र नौ सेनाका अध्यक्ष यसमा सदस्य रहन्छन् ।

बीबीसीका सम्वाददाता शुमायला जाफरीका अनुसार बुधबार संसदको संयुक्त बैठक बोलाइएको छ । साथै नेशनल कमान्ड अथ्योरिटी (एनसीए)को बैठक पनि बोलाइएको छ । एनसीएको बैठकले भारतीय आक्रमणको कसरी जवाफ दिने भनेर पाकिस्तानले आगामी रणनीति बनाउने छ ।

प्रतिक्रिया दिनुहोस्