१७ बैशाख २०८१, सोमबार

 

हामी लड्दालड्दै मर्न डराउँँदैनौं- पकिस्तानी प्रधानमन्त्री

काठमाडौं । पकिस्तानले नियन्त्रणमा लिएका भारतीय लडाकू विमानका चालक अभिनन्दनलाई भोलि रिहा गरिने बताइएको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आज पाकिस्तानी संसदको संयुक्त सत्रलाई संबोधन गर्ने क्रममा बुधबार नियन्त्रणमा लिइएका विंग कमांडर अभिनन्दनलाई शुक्रबार मुक्त गरिने बताएका हुन् ।

भारतीय हवाई कारवाहीपछि बोलाइएको संसदको संयुक्त बैठकलाई संबोधन गर्ने क्रममा खानले आफू कुनै पनि हालतमा युद्धको पक्षमा नरहेको बताए ।खानले आफूले इस क्षेत्रमा शान्ति कायम गर्न भारतीय समकक्षी नरेन्द्र मोदीसँग संपर्क गर्न खोजेपनि मोदीले कुनै प्रतिक्रिया नदिएको बताए ।

उनले आफ्नो सदाशयतालाई कमजोरीको रूपमा नबुझ्न समेत चेतावनी दिए । भारतीय इतिहासका दुई शासक अन्तिम मुगल सम्राट बहादुर शाह जफर र दक्षिण भारतीय राज्य मैसूरका शासक टीपू सुल्तानको उदाहरण दिंदै आफूहरूले बहादुर शाहले अंग्रेजहरुको दासत्व स्वीकार गरे जस्तै हेपाई स्वीकार्नु भन्दा टीपू सुल्तानले जस्तै लड्दालड्दै मर्नु स्वीकार्ने बताए ।

भारतीय सेनाको तीनवटै शाखाका प्रमुखहरू बिहीबार सवा पाँच बजे पत्रकार सम्मेलन गर्न गैरहेका छन् । उक्त सम्मेलनमा तीनवटै सेनाका प्रमुखहरूले भावी रणनीतिबारे संकेत गर्नसक्ने बताइएको छ ।

आज मात्रै तिनै सेनाका प्रमुखहरूसँग रक्षामन्त्री निर्मला सीतारमणले आपतकालीन बैठक गरेकी थिइन् । भारतीय मीडियामा प्रधानमन्त्री मोदीले भारतीय सेनालाई आफ्नो विवेक प्रयोग गर्न छूट दिइसकेको समाचार प्रसारित भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्