पर्वत । खेतीयोग्य जमिन र बस्तीमा समेत बाँदर र अन्य जंगली जनावरहरुको अतिक्रमण वढेपछि स्थानीयबासीले बस्ती नजिकको जंगल फडानी गर्न थालेका छन् ।
पर्वतको कुश्मा नगरपालिका , फलेबास नगरपालिका र मोदी गाउँपालिकाले ब्यापक रुपमा रुख फडानी गरेका छन् । स्थानिय तहले ब्यापक जंगल र रुख फडानी गर्दा पर्यावरणमा पर्ने असरका बारेमा ध्यान नदिएको र समन्वय समेत नभएको भन्दै सरोकारवालाले बिरोध गरेका छन् ।
कुस्मा नगरपालिकाले कार्यपालिकाको बैठकबाटै निर्णय गरेर निजी आवादीका रुख काट्न थालेको छ । कुस्माले तीन महिना पहिले देखि नै रुख फडानी गर्न थालेको छ । बस्तीबाट २० मिटर वरपरका रुख कटान भैरहेको छ । कुस्माको -११ कटुवाचौपारीबाट शुरु भएको अभियान अहिले ११, १२, १३ र १४ वडामा सञ्चालन भैरहेको छ । बाँदर र जंगली जनावरको प्रकोप बढेपछि कृषकको माग अनुसार नै रुख काट्ने अभियान चलाइएको बताएका छन् ।
बस्ती नजिकका रुख काट्ने क्रममा वन कार्यालयसंग भने सरोकार नै राखिएको छैन । स्थानिय तहले निर्णय गरेर रुख काटेपनि सार्वजनिक जंगलमा काट्नेमा वन कार्यालयले काबार्ही गर्ने संकेतसमेत दिएको छ । यसरी काटिएका रुख ओसारप्रसार गर्दा पनि वनको अनुमति नलिएका कारण पक्राउ पर्न सक्ने देखिएको छ । ‘ विना पुर्जी काटिएका रुख घरमा नै प्रयोग गर्दा समस्या हुँदैन’ डिभीजन वन प्रमुख दधिलाल कँडेलले भने ‘बिक्री बितरण गर्दा काठ समात्नु पर्ने हुन्छ’ रुख फडानी गरेर बाँदर नै हट्ने संभावना कम रहेको र बाँदर बढेमा स्थानिय तहले कसरी जिम्मेवारी लिन्छन भन्ने समस्या हुने कँडेलको भनाई छ ।



















































































































































































































