६ जेष्ठ २०८१, आईतवार

 

पर्वतमा पहिलो सडक योजना अलपत्र

पर्वत । सदरमुकाम कुश्मा बजारको बडागाउँ देखि प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल मोदीवेणी दिव्यधाम जोड्ने मोटरबाटोको स्तरोन्नति गर्ने काम धमामधम भइरहे पनि बजेट अभावमा काम रोकिने अवस्थामा पुगेको छ । गण्डकी प्रदेश सरकारअन्तर्गत सडक निर्माणको पहिलो योजना भएपनि बजेट अभाव हुँदा अलपत्र पर्ने अवस्थामा पुगेको हो ।

पूर्वाधार विकास कार्यालय पर्वतका अनुसार प्रदेश सरकारबाट शुरुमा विनियोजन भएको  ५० लाख बजेटको काम एक महीना पहिले नै सकिएको छ ।  पहिलोपटक विनियोजन भएको रु ५० लाखले केही काम भएको र पछिल्लोपटक विनियोजित थप ५० लाखले अहिले ढलान गर्ने र कालोपत्रका लागि संरचना तयार गर्ने काम भइरहेको कार्यालय प्रमुख दयाराम अधिकारीले बताए ।

करीब एक हजार २ सय  मिटर लामो सडक पूरा गर्न रु तीन करोड ७५ लाख आवश्यक छ । “ थप दुई करोड ५० लाख बजेट भए सडक ढलान र कालोपत्र गर्न सकिन्छ”, उनले भने, “थप बजेट निकासा हुने आश्वासन पाएमा काम निरन्तर गर्दै योजना पूरा हुन्छ ।” उक्त सडकसँगै मोदीखोलामा निर्माणाधीन मोटरेबल पुल सम्पन्न भएपछि पर्वतको फलेवास नगरपालिका लगायत दक्षिण क्षेत्रका बासिन्दा सदरमुकाम आउजाउका लागि करिब डेढ घण्टा बाटो छोटिने छ । सडक र पुल समयमा सम्पन्न गर्न जनप्रतिनिधि र राजनीतिक क्षेत्रबाट निरन्तर पहल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्