बागलुङ । ‘गन्तब्य बागलुङ कालिका– कला संस्कृतिको प्रदर्शन, स्थानिय उत्पादन, ब्यापार र पर्यटन प्रबद्र्धन’ भन्ने नाराका साथ बागलुङमा चैते दशैं मनाउने तयारी गरिएको छ । दशैंको अवसरमा ऐतिहासिक चैत्राष्टमी मेला आयोजना हुने भएको छ । यही चैत्र २३ गते देखि बैशाख २ गतेसम्म संचालन हूने चैत्राष्टमी मेला २०७५ मा बिगत बर्षहरुको भन्दा थप कार्यक्रम सहित गरिने भएको छ ।
मेलाका कार्यक्रमहरुमा राष्ट्रिय लोक दोहोरी, खूल्ला कालिका कप पुरुष भलिबल प्रतियोगिता, खूल्ला छेलो प्रतियोगिता, खूल्ला भजन प्रतियोगिता, खूल्ला तारो खेल प्रतियोगिता, खूल्ला नौमति बाजा प्रतियोगिता संचालन गरिने भएको छ । साथमा बागलूङ जिल्लाको १० स्थानीय पालिकाका सांस्कृतिक पहिचानको प्रदर्शनी, ख्याँती प्राप्त कलाकारहरुको साँगितिक प्रस्तुती, रथ यात्रा, रमाइलो मेला बाल उद्यान आदी रहने कालिका भगवती गुठीले जनाएको छ ।
कालिका भगवती गुठी व्यवस्थापन समितिको मुख्य आयोजना तथा जिल्लाका स्थानिय तह,सामाजिक तथा व्यवसायीक संघ सस्थाहरुको सक्रियतामा संचालन हुने मेलामा करिव ३३ लाख खर्च हुने अनुमान गरिएको छ । करिब ५ लाख भक्तजन एवं दर्शकहरुले प्रत्यक्ष र लाखौंको संख्यामा विभिन्न माध्यमबाट अवलोकन गर्ने अनुमान गरिएको छ । चैते दशैं हिन्दु धर्मावल्म्बीका लागि पूजा उपासाना एवं बलि दिएर मनाउने चाँड हो ।



















































































































































































































