पर्वत । गत मंगलबार राति सँगै बसेर मदिरा सेवन गरेका युवाहरुबीच झगडा हुँदा गंगाप्रसाद विकको मृत्यु भएको छ । चित्रेस्थित नेपाने सादी खोलामा कुटपिट गरी विकलाई मारेको आरोपमा स्थानीय दुई युवा पक्राउ परेका छन् ।
युवाको हत्या भएकाे सूचना पाए लगत्तै प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीको नेतृत्वमा खटिएको टोलीले सोही ठाउँको सामुदायिक जंगलमा लुकिछिपि रहेको अवस्थामा २३ वर्षिय दलवहादुर नेपाली र २३ वर्षीय रविन सुनारलाई पक्राउ गरिएको छ । पक्राउ परेका युवाहरुको प्रारम्भिक बयानका क्रममा घटना स्वीकार गरेका छन् भने मुख्य अभियुक्त २६ वर्षिय कृष्णबहादुर सुनार फरार रहेको र निजको खोजी कार्य जारी रहेको प्रहरीले जनाएकाे छ ।
मंगलबार राती ९ बजेको समयमा मादक पदार्थ सेवन गरी घर फर्कने क्रममा सामान्य विवाद हुँदा तीन जना मिलेर गंगाप्रसादको हत्या गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका युवाहरुलाई बिहीबार पर्वत जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भैरहेको प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।



















































































































































































































