७ जेष्ठ २०८१, सोमबार

 

पाँचथर हत्या प्रकरण : धामी बसेपछि ९ जनाकाे हत्या (अपडेट)

काठमाडौं । पाँचथर मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेस्थित दुई परिवारका ९ जनाको विभत्स हत्यापछि गाउँ नै शोकमग्न छ । हत्यारा पत्ता लगाउन प्रहरीले अनुसन्धान शुरु गरेको छ । रातिको समयमा २ परिवारका ९ जनाको हत्या भएपछि सुरक्षाका विषयमा थप प्रहरीलाई चुनौति थपिएको छ । गाउँपालिका उपप्रमुख उर्मिला राईका अनुसार गाउँका स्थानीयले असुरक्षाको महशुस गरेका छन् । हत्या गरिएका ९ जनाको शव देख्नै नसक्ने गरी विभत्स हत्या गरिएको उनले नयाँ विश्वलाई जानकारी दिइन् ।

सोमबार राति हत्या गरिएका ४१ वर्षीय धनराज शेर्मा, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा र १२ वर्षीया आशिका खजुम लिम्बू छन् । त्यसैगरी, फियाक परिवारका ७४ वर्षीय वमबहादुर फियाक, उनकी श्रीमती तथा ३६ वर्षीया जस्मिता फियाक र २६ वर्षीया मनकुमारी फियाकको पनि हत्या भएको छ । शेर्मा र फियाक परिवारको घरको दुरी करिब डेढ–दुई किलोमिटर टाढा रहेको प्रहरीले जनाएको छ ।

हत्यामा संलग्न  मानिएका ज्वाइँले गरे आत्महत्या
९ जना परिवारको विभत्स हत्यामा संलग्न रहेको आंशका गरिएका ७४ वर्षीय वमबहादुर फियाकका कान्छो ज्वाइँले झुडिएर आत्महत्या गरेका छन् । ९ जनाको हत्या भएपछि उनले रुखमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । उनले आत्महत्या गरेपछि घटना थप रहस्मय बनेको छ । आत्महत्या पछि प्रहरीले अनुसन्धानको सुई मानबहादुर माखिमतर्फ सोझाएको छ । वमबहादुरकी कान्छी छोरी मनकुमारीसँग बिहे गरेका मानबहादुर केही समयदेखि तनावमा रहेको प्रहरीको सुरुवाती अनुसन्धानले देखाएको छ ।

धामी बसेपछि हत्या

स्थानीयबासीका अनुसार धनराजको घरमा सोमबार राति धामी राखिएको थियो । धनराजको घरमा मध्यरातिसम्म चिन्ता बसाइसकेपछि आक्रमण भएको खुलेको छ । मध्यराति चिन्ता सकिएर छिमेकी र धामीसमेत गइसकेपछि धनराजको परिवारमाथि खुकुरी प्रहार भएको खुलेको छ ।

शिशा हालेर मार्ने प्रयास

स्थानीयबासीका अनुसार एक हप्ता अगाडि पनि धनराज सेर्माको परिवारलाई शिशा हालेर ज्यान लिन खोजेको खुलेको छ । स्थानीयबासीका अनुसार खाजामा शिशा मिसाएर दिँदा सेर्माका परिवार बिरामी परेका थिए । तर उनीहरुलाई शिशा हालिदिनेको पहिचान हुन सकेको रहेनछ।

गहिराइमा पुगेर अनुसन्धान 

सामान्य किसिमको घटना नभएकाले अनुसन्धान गर्ने विशेष टोली काठमाडौंबाट बाटोमा आउँदै गरेकाले गहिराईमा पुगेर अनुसन्धान गरिने प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले जानकारी दिए । हत्या गरिएका  ७४ वर्षीय वमबहादुर फियाकको ज्वाइँले आत्महत्या गरेपछि घटना झनै रहस्यमय भएको उनको भनाइ छ ।

शवलाई प्रहरीले सुरक्षा दिइरहेको छ । भागेर बाँच्न सफल भएकी १३ वर्षीय सीता खजुमको झापा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्