आज नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दका दिन कास्कीका तीन स्थानमा बम फेला परेका छन्। पोखराको सिर्जना चोकस्थित एनसेल कार्यालय नजिकै फेला परेको प्रेसर कुकर बम सेनाको टोलीले डिस्पोज गरेको छ। आइतबार राति नै फेला परेको कुकर बम सोमबार बिहान साढे ८ बजे मात्रै सेनाले डिस्पोज गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रवीन्द्रमान गुरुङका अनुसार पोखराकै नयाँबजार र न्यूरोडको मध्य भागमा रहेको इनोभेटिभ डेभलपमेन्ट एजुकेसन एकेडेमीको गेटमा फेला परेको शंकास्पद वस्तु सेनाको टोलीले डिस्पोज गर्दैछ।
त्यस्तै अन्नपूर्ण गाउँपालिकाको नौडाँडामा पनि शंकास्पद वस्तु भेटिएको छ। प्रहरी प्रवक्ता गुरुङका अनुसार त्यसतर्फ सेनाको बम डिस्पोजल टोली जादैं छ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दका क्रममा देशका विभिन्न स्थानमा शंकास्पद वस्तु फेला परेका छन् । पोखरामा बन्दको प्रभावले सार्वजनिक यातायातका सवारीसाधन बिहानैदेखि गुडेका छैनन् र शैक्षिक संस्थामा पनि बन्द रहेको छ ।













































































































































































































