३ जेष्ठ २०८१, बिहीबार

 

ताहिर विश्वकपमा पहिलो बल फाल्ने पहिलो स्पिनर

दक्षिण अफ्रिकाका लेग स्पिनर इमरान ताहिर विश्वकप क्रिकेटको कुनै पनि सिजनमा पहिलो बल फाल्ने पहिलो स्पिनर बनेका छन् । विश्वकप क्रिकेट–२०१९ को पहिलो म्याचमा बिहीबार इङ्ल्यान्डविरुद्ध बलिङ गर्दै उनले यस्तो रेकर्ड बनाएका हुन् ।

४० वर्षीय ताहिर यो विश्वकपको सबैभन्दा उमेरदार खेलाडी पनि हुन् ।

यद्यपि बलिङको सुरुआत नै स्पिनरबाट गराउने चलन पुरानै हो । १९९९ विश्वकपमा न्युजिल्यान्डका अफ स्पिनर दीपक पटेलले केही म्याचमा सुरुआती बलिङ गरेका थिए । तर त्यो सुरुआती म्याच थिएन ।

अहिले विश्वकप क्रिकेटको १२औं संस्करण चलिरहेको छ । पहिलो विश्वकप सन् १९७५ मा खेलिएको थियो । भारतका तीव्र गतिका बलर मदन लालले यसको पहिलो ओभर गरेका थिए ।

सन् १९७९ मा वेस्ट इन्डिजका एन्डी रोबर्ट्सले भारतका सुनील गावस्करलाई पहिलो बल फ्याँकेका थिए । सन् १९८३ मा भारतले विश्वकप ट्रफी जितेको थियो । त्यति बेला रिचर्ड हेडलीले पहिलो ओभर गरेका थिए ।

सन् १९८७ मा श्रीलंकाका विनोदन जोनले पहिलो म्याचमा पाकिस्तानविरुद्ध पहिलो ओभर गरेका थिए । सन् १९९२ विश्वकपमा अस्ट्रेलियाका क्रेग म्याक्टरमोटले न्युजिल्यान्डविरुद्ध पहिलो बल फ्याँकेका थिए ।

त्यस्तै सन् १९९६ मा इङ्ल्यान्डका डोमिनिक कार्क र सन् १९९९ मा डारेन गोफले पहिलो ओभर गरेका थिए ।

सन् २००३ मा दक्षिण अफ्रिकाका सन पोलक, सन् २००७ मा पाकिस्तानका उमर गुल, २०११ मा बंगलादेशका के शफीउल इस्लाम र सन् २०१५ मा श्रीलंकाका नुवान कुलसेकराले पहिलो ओभर गरेका थिए ।

 

इङ्ल्यान्डको जित
पहिलो म्याचमा दक्षिण अफ्रिका इङ्ल्यान्डसँग बिहीबार १ सय ४ रनले पराजित भएको छ ।

घरेलु मैदान ओभलमा इङ्ल्यान्डले पहिले ब्याटिङ गर्दै ५० ओभरमा आठ विकेट गुमाई ३११ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिका ३९.५ ओभरमा २०७ रनमै अलआउट हुन पुग्यो । विश्वकपको यो लगातार चौथो सिजन हो जसमा आयोजक टोली उद्घाटन म्याच जित्न सफल रह्यो ।

सन् २००३ मा दक्षिण अफ्रिकी टोली आफ्नै भूमिमा वेस्ट इन्डिजबाट उद्घाटन म्याचमा पराजित हुन पुगेको थियो ।

पाँचौंचोटि विश्वकप आयोजना गरिरहेको इङ्ल्यान्डले उद्घाटन म्याच जितेको यो छैटौंपटक हो । यसअघि उसले १९७५, १९७९, १९८३, १९९९ का विश्वकपमा पनि उद्घाटन म्याच जितेको रेकर्ड छ ।

 

 

प्रतिक्रिया दिनुहोस्