देवदहमा गएराति एक युवकको हत्या भएको छ । देवदह नगरपालिका–८ विशालनगरका २८ वर्षीय सुमन थापाको हत्या भएको हो ।
उनको निधार र छातीमा निलडाम रहेको छ । साथीभाइकै कुटपिटले उनको ज्यान गएको हुन सक्ने प्रहरीको आशंका छ । घाइते उनको उपचारको क्रममा देवदह मेडिकल कलेज भलुहीमा ज्यान गएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले बताए ।
घटनामा संलग्न रहेकाे आशंकामा प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएकाे छ ।
पक्राउ पर्नेमा रुपन्देही देवदह–८ बस्ने २० वर्षीय रमेश थारू, २४ वर्षीय लक्षण थारू, १९ वर्षीय सुवास क्षेत्री, २३ वर्षीय हिराबहादुर महतो, २४ वर्षीय रेखबहादुर महतो रहेका छन् ।
देवदह क्षेत्रमा यसअघि युवा संघ रुपन्देही अध्यक्ष दुर्गा तिवारी, युवा संघका कार्यकर्ता बलु पौडेल र तरुण दलका कार्यकर्ता अनिश पुरीको समेत हत्या भएको थियो ।













































































































































































































