२० बैशाख २०८१, बिहीबार

 

पदमार्गले जोडिँदै आँगाखेत–घुम्टे

गलकोट नगरपालिका–७ मल्ममा पर्यटन पदमार्ग बनाउन काम तीव्र पारिएको छ ।

यसका लागि गण्डकी प्रदेश सरकारको पर्यटन तथा वन मन्त्रालयले चालू वर्षको बजेटबाट २० लाख रुपैयाँ उपलब्ध गराएको छ ।

दरमखोला, भीमसेनढुंगादेखि मल्म, आँगाखेत, सिरबारे, मल्मडाँडा, भल्साङ, राम्चे ढुंगा हुँदै घुम्टे जोड्ने पदमार्गको यस वर्ष ६ सय मिटर सम्पन्न गर्ने गरी काम भइरहेको पदमार्ग निर्माण समितिका अध्यक्ष रुद्र केसीले बताए ।
पर्यटकीय स्थल राम्चे ढुंगा, पाण्डवखानी सिद्धथान होमस्टे र घुम्टेमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन सहज बनाउन पदमार्ग प्रभावकारी हुने उनको भनाइ छ ।

यसै पदमार्गअन्तर्गत मल्मको टोकरी, अजिराखर्क, तुलसी मैरो, सानो घुम्टे हुँदै घुम्टेसम्मको काम पनि सञ्चालन भइरहेको छ ।

निर्माणकार्य तदारुकतासाथ अगाडि बढाइएको पर्यटन पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष रामबहादुर विकले जानकारी दिए । पर्यटन पदमार्ग निर्माणका लागि भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतले समन्वय गरिरहेको छ । पुरातात्विक महत्व होस् भन्ने हिसाबले स्थानीय ढुंगा र माटोबाट पदमार्ग निर्माण भइरहेको छ ।

विदेशी पर्यटकले सडक मार्गभन्दा ट्रेकिङ रुटमार्फत पदयात्रा गर्न चाहने भएकाले यसले थप महत्व राख्ने भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतका वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत कृष्णप्रसाद घिमिरेले बताए ।

यस आर्थिक वर्षमा ६ सय मिटर पदमार्ग निर्माण हुने र बाँकी काम क्रमागत योजनामा समावेश गरी अगाडि बढाइने गलकोट–७ का वडाध्यक्ष सुवेदार टीकाबहादुर थापाले बताए । अहिले मल्मको आगाँखेतदेखि तल्लो सिरबारे, माईको थान हुँदै सिरबारे र अजिराखर्क, तुलसी मैरासम्मको ट्र्याक सम्पन्न हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्