२० बैशाख २०८१, बिहीबार

 

बागलुङको पर्यटन गुरुयोजना प्रस्ताव मन्त्रालयमा

बागलुङ पर्यटन विकास समितिले गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई बागलुङ जिल्लाको पर्यटन प्रोफाइल तथा पर्यटन गुरुयोजनाको प्रस्ताव पेस गरेको छ ।

समिति सचिव अर्जुन चोखाल, सांसद इन्द्रलाल सापकोटा, चन्द्रबहादुर बुढा सागर, कोपिला बोहोरासहितको टोलीले मन्त्री विकास लम्साललाई प्रस्तावपत्र हस्तान्तरण गरेको हो ।

दशवर्षीय गुरुयोजनाको मुख्य उद्देश्य बागलुङका महत्वपूर्ण भौगोलिक तथा सांस्कृतिक क्षेत्रको प्रवर्धन तथा विकास गर्नु रहेको समिति सचिव चोखालले नयाँ विश्वलाई बताए ।

गुरुयोजनामार्फत बागलुङको समग्र पर्यटन प्रवर्धनका लागि लगानी वातावरण बनाउन र निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढ्न सकिने उनको भनाइ छ ।

गुरुयोजना जिल्लाका १० वटै स्थानीय तहसमक्ष पनि पेस गरिने चोखालले बताए । उनका अनुसार पर्यटन प्रोफाइलअन्तर्गत जिल्लाको हालको पर्यटकीय अवस्था तथा सम्भावना समेटिएको छ ।

समितिको संयोजकत्वमा फागुन २३ गते सरोकारवालासँगको अन्तरक्रियाले जिल्लाको पर्यटन विकासमा योजनाबद्ध रूपले अगाडि बढ्नुपर्ने निष्कर्ष निकालेको थियो ।

सोही अनुसार पर्यटन प्रोफाइल र गुरुयोजना बनाउन सुरु गरिएको चोखालले बताए । अन्तरक्रियामा मन्त्री लम्साल, जिल्लाबाट प्रदेश र संघमा प्रतिनिधित्व गर्ने सांसद, स्थानीय तहका जनप्रतिनिधि, उद्योग वाणिज्य संघ, निजी क्षेत्रका प्रतिनिधि सहभागी थिए ।

 

प्रतिक्रिया दिनुहोस्