२२ भाद्र २०८३, सोमबार

 

कसम ! शम्भु सर ! कपी गरेको छैन

आदरणीय शम्भु राई सर नमस्कार !

आराम छु, आराम चाहन्छु ।

आज मिति २०७६ असार ३ गते रातको ठिक १२ बजेर ५३ मिनेट जाँदै गर्दा बुटवल फर्साटिकटमा रहेको ऋद्धिसिद्धि पार्टी प्यालेसको पहिलो तलाको बीचको कोठामा पल्टिएर मोबाइलको नोटबुकमा यो चिठी लेख्दै छु ।

तपाईंलाई विश्वास नलाग्ला गीत पनि सुन्दै छु– चिठी तिमीलाई लेखूँ भन्छु । बिना कुनै स्वार्थ, बिना कुनै उक्साहट, बिना कसैको सुझाव–सल्लाह, बिना कुनै योजना यत्तिकै मनबाट जे आउँछ त्यही लेख्दै छु ।

करिब ३६ डिग्री गर्मीलाई उछिन्ने जोसमा, फुल स्पिडमा उषा ब्रान्डको फ्यान घुमिरहेको छ ।
अलि–अलि शीतल गराएको पनि छ तर फ्यानभन्दा स्पिडमा घुमिरहेको मेरो मनका कुराहरू यहाँ पोखेर शीतल हुन चाहन्छु ।

यद्यपि हुन्छु कि नाइँ, थाहा छैन । भर्खरै एउटा सांगीतिक प्रस्तुति दिएर फर्केको छु । यहीँ नजिकै महोत्सव लागेको छ । राम्रो पारिश्रमिक तोकेर आएको थिएँ । करिब आधाजति दर्शक टिकट नपाएर गुनासो गर्दै फर्किएछन् । आयोजकले भोलि पुनः प्रस्तुति दिन आग्रह गर्नुभएको छ । कारण ‘गलबन्दीको’ क्रेज ।

मैले सोचेकै थिइनँ सर, लोकगीत गाएर यतिबिधि चर्चित भइन्छ भनेर । बूढापाकाले मात्रै, त्यो पनि पश्चिम–पश्चिम भेगतिर सुनिने लोकदोहोरी गाएर कहिल्यै सेलिब्रिटी बनिन्छजस्तो लाग्थेन ।
त्यसैले गति नै त छाडिएन तर अनेक ‘तिक्डम’चैं लगाएकै हो । एकबारको जुनीमा गाउने इलम गरिसकेपछि २–४ जनाले चिनेनन् भने के गाउनु गाँठे भन्ने आत्मबोध भइरहन्थ्यो ।

गीतै गाएर पेट र परिवार पालेको भए पनि म कहिल्यै खुसी भइनँ । सपना ज्युँको त्युँ छ । भोक ज्युँको त्युँ छ भनेर निकै निराशामा गुज्रिरहेको थिएँ । कसो–कसो दोहोरी ब्याटलले अलि–अलि भोक मेटायो । त्यही चिनिने भोक क्या सर !
पछि ‘बोल माया’ गर्दा मैले चिनिनेभन्दा सम्झिनेतिर अलि बढी ढल्केर काम गरेँ र आफूलाई अलि धेरै अंक बटुले दर्शकश्रोताबाट ।

‘ब्याटल टु’ ले मेरो परिचयमा थोरै प्रश्न उठायो । तँ को होस् ? कताको मुन्छे होस् ? भनेर अलि–अलि नम्बर घट्यो पनि तर क्रियटिभिटीमा नम्बर त जोडिएकै हो । कहिलेकाहीँ उत्तर गलत हुँदा पनि अक्षर राम्रो भएर नम्बर पाइन्थ्यो नि सर स्कुलमा । त्यो पनि गणितमा, विज्ञानमा होइन, नेपाली विषयमा । हो, संगीत पनि नेपाली विषयजस्तै लाग्छ सर । गणितको, विज्ञानको जस्तो ठ्याक्कै उत्तर नमिले पनि मीठो भाषा लेख्न जान्यो भने, राम्रो अक्षर कोर्न जान्यो भने लगभग पास अंक त पाइने, १०० मा ३२ ।

‘गलबन्दी’सम्म आउँदा मेरो अंक सयमा–सय आएको थियो सर । कापी जाँच्ने शिक्षकजस्तै गीत जाँच्ने दर्शकश्रोतालाई उत्तर, अक्षर र भाषा सबै ठीकै लागेको थियो । त्यसैले रिजल्ट पनि लगभग स्कुल टप नै भयो । सामान्य अंकमा पास हुनेको के भ्यालु हुन्छ र ? तर स्कुल नै टपिसकेपछि सबैको चासो हुनु स्वाभाविक हो । त्यसैले ‘गलबन्दी’लाई तपाईंले पनि जाँच्नुभयो सर ।

तपाईंलाई लाग्यो अक्षर र भाषा राम्रो छ तर उत्तर कतैबाट प्रभावित छ । लाखे हौ, मेरैबाट प्रभावित छ कि के हो ?
सर्वप्रथम त तपाईंले ‘गलबन्दी’ सुनिसकेपछि तपाईंको मनमा भाका मिलेजस्तो लागेर भएको छटपटी र हल्ला भइसकेपछि आएका नकारात्मक टीकाटिप्पणीबाट तपाईंको आत्मसम्मानमा पुग्न गएको ठेसप्रति म दुःखी छु ।

एउटा अनुजको कामले अग्रजको मनमा उब्जिएको बेचैनी र तपाईंको व्यक्तित्व र नियतमाथि आएका प्रश्नप्रति मलाई लज्जाबोध छ । यद्यपि तपाईंले कुरा उब्जाइसकेपछि मेरो नियतमाथि, व्यक्तित्वमाथि, सिर्जनामाथि लागेका आरोपहरूले मेरो आत्मसम्मानमा, मेरो दैनिक जीवनमा, मेरो मानसिकतामै पनि कत्रो असर पुगेको छ । त्यतातिर सोचेर हजुर दुःखी नहुनुहोला है ।
म ठीकठाक छु सर । हामीलाई हाम्रो समयले दिएको एउटा जादुमय अवसर छ– भाइरल ।

छिनमै उचालिएर माथि पुग्ने, छिनमै तल थेचारिने । त्यसैले लगभग सामान्यजस्तै लाग्न थालेको छ, रातारात चर्चित हुने र रातारात गाली खाँदै लखेटिने प्रवृत्ति ।

जुन भोक थियो नि सर चिनिने, चर्चित हुने । भयो, अघाइयो, भुँडी फुट्ने गरी अघाइयो ।

अँ, साँच्ची भाका मिलेको प्रसंग । गाउँमै हुँदा सुनेको भनेर तपाईंलाई मक्ख पार्दिनँ सर । काठमाडौं आएर दोहोरी साँझमा काम गर्न थालेपछि हजुरका धेरै गीतहरु सहकर्मीको आवाजमा सुनियो ।

आफूलाई रहर लागेर खोजी–खोजी ओरिजिनल गीत सुनेर डायरीमा गीत टिपेर पनि गाइयो ।

चिठी तिमीलाई र तिमीले सम्झे नि लाखै छ भन्ने अक्सर अफर आउँथ्यो दोहोरीमा । सहकर्मीले गाउँथे, म अभिनयजस्तो गर्थें । हल्का रक्सीले मातेका बेला यस्तो गीतले अझै छुने रै’छ कि मान्छेलाई कुन्नि ?

पैसा पनि राम्रै झथ्र्यो । मचाहिँ ‘रहरले चलेछ बतास सुस्तरी’ बोलको गीत गाउने प्रयास गर्थें । त्यसको पूरै अन्तरा याद छ सर मलाई । कतै माहोल जुरेछ भने म हजुरलाई सुनाम्ला गाएरै ।

तर कुन कसम खाएर भनौं सर, यो देउसीभैलो गीत मैले सुनेको थिइनँ । त्यसैले मैले कपी गरेको हुँदै होइन । पहिले नै रेकर्ड भइसकेको कुनै गीत पुनः रेकर्ड गर्छु र हिट बनाउँछु भन्ने आत्मविश्वास कसैमा हुन्छजस्तो लाग्दैन सर ।
बरु पुरानो हिट गीतलाई रिमेक गर्ने, कभर गर्ने चलन बढेको छ । यो कति सही कति गलत, त्यतातिर नजाऊँ । मैले यहाँ जोड्न खोजेको चाहिँ पहिला त्यति नसुनिएको, सफल नभएको गीतलाई ‘रि रेकर्ड’ गरेर चलाइदिन्छु भन्ने कन्फिडेन्स ममा छैन सर । त्यो शीर्षक तपाईंले त्यतिखेरै लिनुभयो । अब मैले किन लिन्थेँ र ?

अहिले त झन् खर्च बढेको छ सर । कलाकारको भाउ र पारिश्रमिक ह्वात्तै बढेको छ । खर्च उठाउने बिजनेस ‘वे’ छैन । उसबेला जस्तो क्यासेटमा साइन गरेर पठाएको अनुभव हामीले गर्न पाइएन सर । अहिलेको अवसर र चुनौती भनेको मैले माथि जोडिसकेँ । त्यही ‘भाइरल’ हो । त्यो पनि फिरीको ।

सर भाका मिलेकै छैन ? काँ मिलेको छ ? भनेर तपाईंको विचारलाई, तपाईंको फिलिङ्सलाई, तपाईंको प्रत्येक तर्कलाई म खण्डन गर्न चाहन्नँ ।
आफैंले भन्नुभएको थियो, म तपाईंको छोराभन्दा पनि धेरै कान्छो उमेरको छु । तपाईं मेरो बुबाभन्दा पनि बढी उमेरको हुनुहुन्छ । यस कारण तपाईंको भोगाइ, तपाईंको अध्ययन–अनुभव, तपाईंको योगदान, तपाईंको सफलताका अगाडि म धेरै बच्चा छु । उमेर, अनुभव र समयले पनि म केटाकेटी नै हो ।

एउटा श्रोता भएर सुन्दा ‘गलबन्दी’ र आऊ नाचौं १–२ ठाउँ उस्तै–उस्तै सुनिन्छजस्तो मलाई पनि लाग्छ । ‘ओई, सुन्त मिलेको छ, यार’ भनेर यी दुई गीत (अलिकति स्पिड बढाएर) फोर्सफुल्ली एकैचोटि सुनाउने हो भने जोकोहीको मनमा पनि आउँछ होला– ‘ए हो त यार मिलेकै रै’छ ।’ तर, अलि गहिरिएर सुन्ने हो भने ठ्याक्कै मिलेको चाहिँ छैन कि सर ? कपी हुनलाई त पूरै ¥याङ कि ठ्याङ मिल्नुपर्ने हैन र ? ‘सेम टु सेम’ भएपछि त फ्याट्टै चिनिन्छ सर । यसरी मत नै बाझिँदैन । हेर्नुस् त दर्शकहरू बाँडिएको । कसैलाई लाग्छ मिल्छ । कसैलाई लाग्छ मिल्दैन । त्यसैले यो दर्शकलाई भजाएर हामी कबड्डी–कबड्डीजस्तो मिडिया–मिडिया नखेलौं ।

मैले यहाँनिर धेरै लोकभाका मिल्छन् । उस्तै–उस्तै हुन्छन् । यो हाम्रो नेपालको सम्पत्ति हो । पब्लिक डोमेन हो । यस्तो–उस्तो भनेँ भने पनि तपाईंलाई तर्कले जित्न खोजेजस्तो होला । यद्यपि अन्य संगीतहरू अलिकति गणितीय सूत्रमा बाँध्न सकिन्छ । लोकभाकाहरू अलि बढी स्वतन्त्र हुन्छन् । खोलाहरूजस्तै, हावापानी, वनजंगलजस्तै प्राकृतिक ।

मेरा सिर्जनाहरू धेरै कुराबाट प्रभावित छन् सर । उसै पनि जति गीत चलेका छन् ती सबै शब्द र संगीतले मात्रै होइन, भिडियोमा अनेक ‘तिक्डम’ गरेको छु सर । यो प्रविधिले र जमानाले बनाएको हो । म्युजिक उठेर गीत भनेर म्युजिकमै सकिँदा पनि पूर्ण गीत हुन्थ्यो, ‘चिठी तिमीलाई’ ताका । अहिले चिठीको चलन हराएर भिडियो च्याटको जमाना भएर हो कि सर, गीतको अगाडिपछाडि यस्सो नाटक नजोडी त गीत नै पूर्ण नहुनेजस्तो पो भइसक्यो । खैर, म फेरि जोड्न चाहन्छु, मैले ठ्याक्कै गीत सुनेर कपी गरेको हुँदै होइन सर । डिट्टो कपी पनि छैन गीत । मैले नेपाली सांगीतिक इतिहासबारे त्यति अध्ययन गरेको त छैन तर तपाईंभन्दा अझै अग्रज, तपाईं र मसम्म आउँदा नेपाली संगीत र विशेषतः लोकगीत सिर्जना गर्ने ती तमाम अग्रजहरूबाट प्रभावित हुँदै हामीले गीत सिर्जना गर्ने हो ।

तपाईंहरूले बडो दुःख गरी खनेको बाटोमा हामी सजिलरी हिँड्न पाएका छौँ । यस्सो खाल्डाखुल्डी पुर्ने र सके कालोपत्रे गर्ने जिम्मेवारीबोध पनि गरेका छौँ । तपाईंहरूकै बाटोमा हिँड्दै गर्दा तपाईंहरू जस्तै–जस्तै देखिनु स्वाभाविक हैन र सर ? अहिले समय अलि बदलिएको छ ।

गीतसंगीतमा भीडभाड छ । किनकि बाटो सजिलो भएको छ । जो कोही, जाँ कहीँबाट आउन मिल्ने भएर पनि होला । त्यसमाथि हाम्रो पुस्ताको रुचि फेरि डेन्जर–डेन्जर छ सर । यस्तो अवस्थामा ‘गलबन्दी’जस्तो मौलिक लोकगीत यो लेभलमा स्वीकार्य हुनु पनि एउटा उपलब्धि हो सर ।

आफ्नो व्यावसायिक नाफाघाटा नहेरी सांस्कृतिक महत्व बचाउन सबै विधि पु¥याएर ३२–३५ मिनेटको तिहार–गीत बनाउन तपाईंलाई जरुरी थियो र सर ? तिमीले सम्झे नि लाखै छजस्तो अर्को खत्रा आधुनिक गीत दिएर आरबीटीबाट झ्याम्म दाम बुझ्न सक्नुहुन्थेन र ?

म्युजिक नेपालसँग राम्रै छ सम्बन्ध तपाईंको तर तपाईंलाई कलाकारिता गर्दा केवल नाफा–घाटा मात्रै भन्दा पनि नेपाली लोकसंगीतको, नेपाली मौलिक कला–संस्कृतिको बिछट्टै माया रै’छ सर । त्यति माया गर्ने मान्छेले एउटा अनुज भाइले अहिलेको समयमा मौलिकता झल्काउन गरेको प्रयासलाई अलिकति भाकाको प्रसंग लिएर निरुत्साहित नगरिसियोस् । हजारौँ प्रकाश सपुत आए पनि तपाईंको इतिहास र अस्तित्व मेटिन्न सर । ल मानम्, कसैले अझै मीठो गरी चिठी तिमीलाई दुरुस्त निकालेछ भने पनि तपाईं मेटिनुहुन्न सर । तपाईंको अस्तित्व आउँछ–आउँछ ।

लेख्दा–लेख्दै मोबाइलको ब्याट्री २ प्रेसेन्ट भएछ । समय बिहानको ४ः३४ र अन्त्यमा, तपाईंले बोलाएका फोरमहरूमा म उपस्थित हुन तयार छु सर । छलफलका लागि, बहसका लागि, संगीतको शुद्धीकरणका लागि, कपीराइटको कानुन कार्यान्वयनका लागि र अग्रजहरूको सम्मानका लागि ।

तर यो मेरो वर्किङ आवर्स हो सर । सिर्जनशील हुन सक्ने र सोहीअनुसार दौडिन पनि सक्ने उमेर हो मेरो । यो समयमा मलाई नअल्झाइस्यो न सर । म पनि केवल नाफाघाटा मात्रै भन्दा पनि केही फरक र राम्रो गर्न सकिन्छ कि भनेर धेरै रात अनिदो बस्छु । ‘गलबन्दी’का लागि पनि मैले धेरै नै मेहनत गरेको छु सर । जहाँसम्म नाम राख्ने कुरा छ, यो धेरै लोकभाकाहरूबाट प्रभावित छ सर ।

यता पश्चिमतिरको भजनको ताल र रत्यौलीको लय मिस्रित छ भने हजुरको देउसीबाट पनि प्रभावित भएछ । अब कस–कसको नाम राखौँ सर । ‘नाम में क्या चिज हे ?’ अब यसै पनि आजको मितिसम्म सबैभन्दा छोटो समयमा करोड क्लबमा जाने गीत कुन हो भन्ने प्रश्नमा उत्तर आउँछ– गलबन्दी । तर उत्तर यतिमै सकिँदैन । ‘ए त्यो शम्भु राईसँग मिलेको गीत’ भनेर आउने भइसक्यो । विश्वास विचित्रको चिज हो सर । यो निकै जरा गाडेर बसेको हुन्छ मानिसमा ।
अब तपाईंले मिलेकै हो भन्ने प्रमाणित गरे पनि मिलेको छैन भन्नेलाई विश्वास लाग्दैन । मैले हैन, मिलेकै छैन भनेर चिच्याए पनि गीत उस्तै–उस्तै सुन्नेको कान फेर्न सक्दिनँ । त्यसैले एउटा सिर्जनामाथि दर्शकश्रोताको चासो, चिन्ता र माया सम्झेर यो प्रसंग यहीँ स्वतन्त्र छोडौँ न सर । म तपाईंलाई असाध्यै सम्मान गर्छु ।

तपाईं मलाई प्रोत्साहन गर्नुहुन्छ भन्ने कुरामा विश्वस्त छु । आगामी सिर्जनाका लागि सचेत बनाउनुभएकोमा धन्यवाद सर । तर म र मजस्तै नयाँ पुस्तालाई डर पैदा नगरिदिनुहोला । जो गीतसंगीतमा केही गरौं भन्ने हुटहुटीले लामो संघर्षपछि अलिअलि तंग्रिएका छौँ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung