२० बैशाख २०८१, बिहीबार

 

पर्यटकीयस्थल अर्नाकोटमा घरबास सञ्चालन

बागलुङ जिल्लाको पर्यटकीयस्थल अर्नाकोटमा व्यक्तिगत लगानीमा घरबास (होमस्टे) सञ्चालनमा ल्याइएको छ । समुद्री सतहदेखि २ हजार २० मिटर अग्लो रमणीय स्थल अर्नाकोटमा ‘अर्नाकोट घरबास’ सञ्चालनमा ल्याएको हो ।

बागलुङ जिल्लामा सामुदायीक घरबास सञ्चालनमा आइरहेको सन्दर्भमा निसिखोला गाउँपालिका–२ देविस्थानका युवा व्यवसायी टेक बहादुर कुँवरले गाउँमै ३२ लाखको लगानीमा अर्नाकोट घरबास सञ्चालनमा ल्याउनुभएको हो । अर्नाकोट ढोरपाटन नगरपालिकाको बुर्तिवाङ र निसिखोलाको शिरमा अवस्थित छ ।

बागलुङ जिल्लाका घुम्न लायक मध्येका स्थानहरुमा पर्ने अर्नाकोटमा आउने आन्तरिक तथा वाह्य पर्यटकहरुलाई लक्षित गरी घरबास सञ्चालन गरेको सञ्चालक टेक बहादुर कुँवरले बताए । लामो समय देखि बागलुङ बजारमा होटल व्यवसाय गर्दै आएका कुँवरले आफ्नै गाउँ घुम्न गएका पर्यटकहरुलाई खान वस्नको असुविधा भएको महशुस गरी घरबास सञ्चालन गरेका हुन् । ‘लामो समय देखि होटल व्यवसायमा छु, आफ्नै गाउँ घुम्न गएका पर्यटकहरु खान वस्न नपाएको गुनासो सुने,’ कुँवरले भने ‘दिर्घकालिन सोचका साथ घरबासमा लगानी गरेको छु ।’ अर्नाकोट जिल्लाकै बसाईसराई नहुँने गाउँमा पर्छ । अर्नाकोटको डाँडामा मात्र मिलेर बसेका १७० घरले पर्यटकहरुको मनै लोभ्याउछ ।

अर्नाकोटको डाँडामा सरकारले विमानस्थल सञ्चालन गर्नका लागि अन्तिम तयारी समेत गरेको छ । अर्नाकोट विमानस्थलको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरी विमानस्थल सञ्चालन गर्नका लागि नागरिक उड्यन प्राधिकरणले धावनमार्ग कालोपत्रेका लागि पहिलो चरणमा रु.दुई करोड बजेट समेत प्रस्ताव गरी सेकेको छ । ‘अर्नाकोट घुम्न आउने पर्यटक तथा सञ्चालनको क्रममा रहेको विमानस्थललाई लक्षित गरी घरबास सञ्चालनमा ल्याएकोे छु,’ उनले भने ‘हालै सञ्चालनमा आएको घरबास प्रति पहुनाको निकै आर्कषण रहेको छ ।’

घरबासमा एक रातमा ४० पाहुँना बस्न सक्ने क्षमता रहेको छ । निसिखोलाको केन्द्रबाट एक घण्टाको पैदल बटोमा अर्नाकोट पुग्न सकिन्छ । मध्यपहाडी पुष्पलाल लोकमार्गको निसिखोला कालोपत्रे भएसंगै यात्रुहरुको आगमनमा समेत ह्वातै वृद्धि भएका कारण घरबासमा पाहुँना आउने क्रम वृद्धि भएको छ । ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकाको संगम स्थलमा रहेको अर्नाकोटबाट ढोरपाटन नगरपालिकाको सुर्तिबाङ लेक, बोबाङ, घम्पु, दुरलेक, खुङ्गा, तमानखोलाका विभिन्न स्थान उच्च पहाडी श्रृङखलाहरु र निसीखोलाको निसी, भल्कोट, नाङ्गेघुरी, प्युठान, गुल्मी, पाल्पा, स्याङ्जा तथा अर्घाखाँची लगायत म्याग्दीको पश्चिम भाग सहज रुपमा अवलोकन गर्न सकिन्छ । यस्तै एक दर्जन भन्दा बढी हिमालहरुको अवलोकन गर्न सकिने भएकाले पछिल्लो समय अर्नाकोट प्रति पर्यटकहरुको आर्कषण बढ्दै गएको छ ।

यस्तै अर्नाकोटमा अवस्थित माइली बराह मन्दिर दर्शनका लागि समेत आउने धार्मिक पर्यटकहरुका लागि समेत घरबास उपयुक्त स्थान बन्न सक्ने कुँवरको अपेक्षा रहेको छ । घरबासमा कोदो तथा फापरको ढिडो तथा रोटीका परिकार, सिस्नो, मकैको परिकारहरु, भट्टमास, लोकल भेडाको मासु लगायतका परिकारको स्वाद चाख्न पाईने सञ्चालक कुँवरले बताए । वैशाख १ गतेदेखि पाहुँनालाई सेवा प्रदान गर्दै आएको अर्नाकोट घरबासको शुक्रबार निसिखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले औपचारिक उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्