२० बैशाख २०८१, बिहीबार

 

अनकन्टार झरना बन्यो क्यानोइङ गन्तव्य

गलकोट नगरपालिका–३ मा क्यानोइङ मेला सुरु भएको छ । झाडी पन्छाएर जनप्रतिनिधिले यहाँको सहस्रधारा झरनालाई पर्यटकीय गन्तव्य बनाएका छन् ।
यहाँ क्यानोइङ गर्न पोखरा र बागलुङका पर्यटक भेला भएका छन् । केही वर्षअघिसम्म अनकन्टार भिर र जंगल भएको सहस्रधारामा मानिसहरू जान डराउँथे । दुई वर्षअघि वडाध्यक्ष वीरजंग भण्डारीले युवा टोलीलाई झरना लगेपछि उनीहरूमा यसलाई पर्यटकीय गन्तव्य बनाउने जोस पलाएको स्थानीयले बताए ।

नगरपालिकाको सहकार्यमा सहस्रधारा क्यानोइङ प्रवद्र्धन केन्द्रले यहाँ व्यावसायिक अभियान थालेको छ । शनिबारदेखि प्रतियोगितात्मक क्यानोइङसमेत सुरु गरिएको छ । एकै दिन २० जनाले क्यानोइङ गरेका छन् । किशोर अवस्थाका देखि प्रौढ उमेरसम्मकाले क्यानोइङका लागि नाम लेखाएको भण्डारीले बताए ।

२ सय ८० फिट अग्लो झरनालाई व्यवस्थित बनाएर हिउँद–वर्षा नियमित क्यानोइङ चलाउने योजना बनाइएको नगरप्रमुख भरत शर्मा गैह्रेले बताए ।

‘सुरुमा डर लागेको थियो, ड्राइभरको गाइडअनुसार झर्दा रमाइलो भयो,’ गलकोटकी मीना श्रेष्ठले भनिन्, ‘महिलाले पनि साहसिक खेल खेल्न सक्छन् भन्ने देखाउन सकियो ।’ बागलुङदेखि गएकी मीना खड्काले पनि क्यानोइङ गरिन् ।

हटिया बजारदेखि ३ किमी दुरीको झरनासम्म जोड्ने सडक आगामी वर्ष पक्की बनाउने योजनासमेत नगरको छ । आगामी वर्ष ११ लाख रुपैयाँको पूर्वाधार निर्माणमा कार्यालयले सहयोग गर्ने प्रतिबद्धता जनाएको भण्डारीले बताए । उक्त रकम फूलबारी र रिसोर्टमा लगानी गर्न लागिएको हो ।

नगरपालिकाले गलकोट क्षेत्रको अग्लो घुम्टे पुग्ने पदमार्ग, सिद्धवराह र भैरव मन्दिर जीर्णाेद्धार गर्ने, ऐतिहासिक दरबार संरक्षण, राम्चेढुंगामा प्याराग्लाइडिङ र कला–संस्कृतिको संरक्षणमा समेत लगानी गर्दै छ ।

प्रतिक्रिया दिनुहोस्