२५ लाख बिमा रकमको लोभमा एक पुरुषले आफ्नै छोरीको हत्या गरेका छन् । बाबुले ४ वर्षीया नाबालिका छोरीको हत्या गरेका छन् ।
रौतहटको मौलापुर नगरपालिका–६ पथराबुधरामका ३९ वर्षीय रामकिशोर यादवले असार १६ गते ४ वर्षीया छोरी लक्ष्मी राय यादवको घाँटी थिचेर हत्या गरेका हुन् । यादवले छोरीको शव पोखरीमा फालेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । रौतहटका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले बीमाको रकम हातपार्नका लागि नबालिका छोरीको निर्ममतापूर्वक हत्या गरेको बताए ।
रौतहटको गरुडामा रहेको प्रभु बैंकमा २५ लाखको कान्छी छोरीको नामबाट बिमा गराएको २९ औं दिनमा हत्या गरेको बुझिएको छ। पौने २ लाख उनले बैंकलाई बुझाइसकेको यादवले पैसा कमाउने लोभमा छोरीको हत्या गरेको प्रहरी नायव उपरीक्षक कार्कीको भनाइ छ । छोरीलाई यादवले घरमै कुटपिट गरी हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । यादवलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













































































































































































































