४ श्रावण २०८३, सोमबार

 

बढ्दै लैङ्गिक हिंसा

पछिल्लो समय बागलुङमा लैङ्गिक हिंसाका घटना बढ्दै गएका छन् । लैङ्गिक हिंसापीडितहरूको परामर्श र उपचार गर्दै आएको धौलागिरि अञ्चल अस्पतालमा स्थापित एकद्वार संकट व्यवस्थापन केन्द्रको तथ्याङ्कले यस्तो औंल्याएको हो ।

केन्द्रको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५/७६ मा मात्र लैङ्गिक हिंसाका १३५ घटना भएका छन् । यसअघि २०६८/६९ मा २५, २०६९/७० मा ५६, २०७०/७१ मा ७२, २०७१/७२ मा ७०, २०७२/७३ मा ८४, २०७३/७४ मा ९८, २०७४/०७५ मा १०० र २०७५/०७६ मा १३५ घटना भएको केन्द्रका प्रमुख परामर्शदाता देवी भट्टराईले जानकरी दिए ।

यस वर्षका घटनामा १ सय १५ जना महिला तथा २० जना पुरुष र गत वर्ष १ सय जना पीडितमध्ये १० जना पुरुष हिंसामा परेको अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सागर राजभण्डारीले बताए । ‘हिंसाका घटना पहिला पनि नभएका होइनन्,’ उनले भने, ‘गोप्य रूपमा परामर्श तथा उपचारका कारण पीडित खुल्न थालेका हुन् ।’

राजभण्डारीका अनुसार बलात्कार, जबरजस्ती विवाह, पितृसत्तात्मक सोच, मनोवैज्ञानिक असर तथा आफन्तलगायत कारण लैङ्गिक हिंसा हुँदै आएको पाइएको छ । ३ देखि ९६ वर्षसम्मका महिला–पुरुष हिंसामा परेका छन् । तीमध्ये अधिकांश १४ देखि ५९ वर्ष उमेरसमूहका रहेको केन्द्रले जनाएको छ ।

‘लैङ्गिक हिंसामा परेकालाई उद्धार, परामर्श, औषधोपचारदेखि पुनःस्थापनासम्मको काम गर्छौं’ भट्टराईले भने, ‘जनशक्तिको अभावका कारण कार्यक्षमता बढाउन सकेका छैनौं ।’

हिंसाका घटनामध्ये जम्मा ३ प्रतिशत पीडित मात्रै कानुनी प्रक्रियामा जाने गरेको डा. शर्मिला ढकालले बताइन् । २०६८ सालमा स्थापित केन्द्रले घरेलु तथा यौनिक हिंसाबाट पीडितको उपचार तथा परामर्शमा गोप्य रूपमा सक्दो सहयोग गर्दै आएको छ । लैङ्गिक हिंसामा पर्ने अधिकांश दलित तथा न्यूनवर्गीय समुदायका रहेको भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung