काभ्रेको बनेपा बजार क्षेत्रमा मंगलबार राति बम विस्फोट भएको छ। बनेपा बजारको उग्रेश्वर महादेव मन्दिर नजिकै बम विस्फोट भएको स्थानीयले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेले पनि बम विस्फोट भएको पुष्टि गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी जयराज सापकोटाले विस्फोटबारे जानकारी आएको बताउँदै प्रहरी टोली पठाइएको बताए।
त्यस्तै विप्लव समूहले मकवानपुरका दुई स्थानमा गाडीमाथि आगजनी गरेको छ ।
मंगलबार राति मकवानपुरको उत्तरी क्षेत्रमा फाखेलको हुमानेमा बा १४ च ८२३४ नम्बरको कार र मनहरी ज्यामिरे खरंङ्गामा बा ५ ख १७ ३९ नम्बरको ट्रकमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरिक्षक मुकेश कुमारसिंहले सिंहले जानकारी दिए।
उनका अनुसार कार पूर्णरूपमा जलेको छ भने ट्रकको अगाडिको भाग मात्र जलेको छ।
यसैगरी हेटौँडाको विभिन्न स्थानमा शङ्कास्पद वस्तु फेला परेको छ । हेटौँडाको थानाभर्याङ, चौकीटोल र हुप्राचौर क्विक २० पार्टीप्यालेस नजिकै शङ्कास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ । सबै शङ्कास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय गरिसकेको जनाइएको छ ।













































































































































































































