ढोरपाटन नगरपालिका–८ बोबाङमा शनिबार राति एक परिवारका दम्पतीको हत्या भएको छ । आफ्नै घरमा बसेका ६८ वर्षीय भानबहादुर कामी र श्रीमती ६० वर्षीया बिमा कामीको धारिलो हतियारले हानेर हत्या भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख रिणबहादुर बैदावारले बताए ।
स्थानीयले आइतबार बिहान भानबहादुरको शव घरनजिकै मकैबारीमा र बिमाको शव घरभित्रै रक्ताम्मे अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटना थाहा पाएलगत्तै बुर्तिबाङबाट टोली खटाइएको प्रहरीले जनाएको छ । ‘घटनाको प्रकृति हेर्दा बन्चरो प्रयोग गरेजस्तो देखिन्छ, दुवै जनाको टाउकोमा ठूलो चोट छ,’ बैदावारले भने ।
जिल्लाबाट प्रहरीप्रमुखलगायतको टोली घटनास्थलतर्फ आउँदै गरेको र थप अनुसन्धान हुने उनले बताए । कामीदम्पतीका छोराबुहारी ढोरपाटनमा बस्दै आएको बताइएको छ ।













































































































































































































