२५ भाद्र २०८३, बिहीबार

 

पर्यटकको गन्तव्य बन्दै सिग्दी सामुदायिक होमस्टे

बागलुङ सदरमुकामदेखि दक्षिण भेग र गुल्मीको उत्तरी भेगको संगमस्थल बरेङ बजारबाट निकट रहेको सिग्दी सामुदायिक होमस्टे पर्यटकको गन्तव्यको रुपमा परिचित हुदैं आएको छ।

बागलुङको बरेङ गाउँपालिका वडा नं. २ हुग्दिशिर सिग्दीमा अवस्थित होमस्टे शहरी कोलाहल र धुलो धुँवाबाट टाढा र प्राकृतिक सौन्दर्यतामा रमाउँदै पारिवारिक वातावरणमा आरामदायी तथा सुखद बसाइका लागि उपयुक्त रहेकोले पर्यटकको रोजाइमा पर्न सफल भएको छ ।

स्थानीय रुपमै उत्पादित अर्गानिक खानाका परिकारहरुको स्वादका साथमा स्थानीय लोक संस्कृति, सालैजो, सोरठी, मारुनी नृत्यमा रमाउन पाइने हुनाले होमस्टेमा आउने पाहुनाहरु हर्षित भएको होमस्टे सञ्चालन समितिका अध्यक्ष हिरा पुनले बताए ।

समुन्द्री सतहबाट करिब २१०० मिटरको उचाईमा रहेको सुन्दर र रमणीय सिग्दी गाउँमा रहेको सिग्दी सामुदायिक होमस्टे बरेङ गाउँपालिकाको पर्यटक भित्राउन र समग्र पर्यटन विकासमा महत्वपूर्ण भुमिका खेल्ने अध्यक्ष पुनले बताए। होमस्टेबाट यस क्षेत्रको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक पक्षहरुको संरक्षण र प्रवर्धन गर्दै आर्थिक उन्नती गर्ने उद्देश्य रहेको बताइएको छ ।

होमस्टेमा प्रवेश गरिसकेपछि पर्यटकहरु पैदल यात्रा गरि मनोरम दृश्य अवलोकन गर्दै स्थानीयहरुको न्यानो आतिथ्यताको अनुभव गर्न पाउने अध्यक्ष पुनले बताए । उनले भने, ‘होमस्टेमा आएका पाहुनाहरु पदमार्ग हुँदै विभिन्न ठाउँहरु समेत अवलोकन गर्न सक्ने छन् ।’

गत जेष्ठ पहिलो हप्ता सम्पन्न होमस्टेको भवन निर्माणका लागि बरेङ गाउँपालिकाले आर्थिक सहयोग गरेको छ भने पदमार्ग निर्माणमा गण्डकी प्रदेशले सहयोग गरेको छ। होमस्टे गत जेष्ठ १५ गतेबाट सञ्चालनमा आएको हो । होमस्टे सञ्चालन भएदेखि पाहुनाहरुको उल्लेख्य उपस्थिति रहेकाले पर्यटकको गन्तव्यको रुपमा सिग्दी सामुदायिक होमस्टे विकास हुदैं आएको स्थानीयको भनाई छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung