शिवम् सिमेन्टले गत आर्थिक वर्ष २०७५/७६ मा एक अर्ब ५० करोड ३२ लाख रुपैयाँ नाफा गरेको छ। अघिल्लो वर्ष एक अर्ब १४ करोड रुपैयाँ नाफा कमाएको कम्पनीले गत वर्ष खुद नाफा ३१.४८% ले वृद्धि गरेको हो।
कम्पनीले सिमेन्ट बिक्री गरेर ११ अर्ब ३४ करोड रुपैयाँ आम्दानी गरेको छ। आम्दानीमा राम्रो सुधार गरेको कम्पनीको खर्च भने तुलनात्मक रुपमा बढेको छ। उत्पादन खर्च ७ अर्ब २७ करोड रुपैयाँ पुगेको हो।
कम्पनीले गत आर्थिक वर्षमा सर्वसाधारणलाई प्राथमिक शेयर निष्काशन गरेसँगै चुक्त पूँजी चार अर्ब ४० करोड रुपैयाँ पुगेको छ। कम्पनीले स्थानीय बासिन्दाका लागि प्रतिकित्ता २ सय रुपैयाँका दरले ८ लाख कित्ता र सर्वसाधारणमा प्रतिकित्ता ३ सय रुपैयाँका दरले ४४ लाख कित्ता आइपीओ जारी गरेको थियो ।
प्रिमियममा प्राथमिक सेयर बिक्री गरेको कम्पनीको जगेडा कोषमा ९३ करोड ९७ लाख रुपैयाँ जम्मा भएको छ। सेयर प्रिमियम बाहेकको जगेडा कोषमा भने तीन अर्ब २२ करोड रुपैयाँ जम्मा गरेको छ।
कम्पनीको प्रति सेयर आम्दानी ३४ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १९४ रुपैयाँ ६० पैसा छ । प्राथमिक शेयर निष्काशनसँगै दोस्रो बजारमा कम्पनीको अधिकतम प्रतिसेयर मूल्य ७१२ रुपैयाँसम्म पुगेको थियो।













































































































































































































