४ जेष्ठ २०८१, शुक्रबार

 

मेसी र रोनाल्डोलाई पछि पार्दै लिभरपुलका भर्जिल भन डाइक बने ‘युरोपका वर्ष खेलाडी’

लिभरपुलका भर्जिल भन डाइकलाई युरोपका उत्कृष्ट वर्ष खेलाडी घोषणा हुँदा फुटबलका स्थापित मान्यताहरू तोडिएका छन्।भर्जिलले युभेन्टसका क्रिस्टिआनो रोनाल्डो र बार्सिलोनाका लिओनेल मेसीलाई उछिन्दै युरोपेली फुटबल महासङ्घ यूईएफएले दिने उपाधि हात पारेका हुन्।

उनी यो उपाधि पाउने पहिलो डिफेन्डर हुन जसबाट गोल गर्नेले मात्रै खेल जिताउँछ भन्ने धारणा तोडिएको छ।यूईएफएले इङ्ग्ल्यान्डकी ‍लुसी ब्रोन्जलाई वर्षको उत्कृष्ट महिला खेलाडी छानेको छ।

उपाधि पाउने पहिलो डिफेन्डर

यो उपाधि सन् २०१०-११ देखि दिन थालिएको हो।रोनाल्डोले सन् २०१४, २०१६ र २०१७ मा गरी तीन चोटि र मेसीले सन् २०११ र २०१५ मा गरी दुई चोटि सो उपाधि पाएका थिए।अट्ठाइस वर्षीय भर्जिल यूईएफएको ‘वर्ष खेलाडी’ बन्ने पहिलो डिफेन्डर पनि हुन्। उनी द नेदरल्यान्ड्सका नागरिक हुन्।

भर्जिल गत वर्षको आरम्भदेखि लिभरपुलसँग आबद्ध भएका हुन्।साउथह्याप्प्टन छोडेर सो क्लबमा जाने सम्झौता गर्दा उनले सात करोड ५० लाख पाउन्ड लिएका थिए।लिभरपुलले गत सिजनमा युरोपेली फुटबलको उपाधि जित्दा भर्जिल सो क्लबका अभिन्न अङ्ग थिए।

आफ्नो सङ्घर्षको कथा सुनाउँदै भर्जिल भन डाइक
गत जुनमा लिभरपुलले टोटन्हमलाई २-० ले हराएर च्याम्पिअन्स लीगको उपाधि जित्दा भर्जिलले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।रोनाल्डोले युभेन्टसलाई सिरी आको र मेसीले बार्सिलोनालाई ला लिगाको उपाधि जित्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।यस पटक पनि उनीहरूलाई दाबेदार मानिएको थियो तर भर्जिलले बाजी मारे।

‘सबैभन्दा उपयुक्त पात्र’

लिभरपुलले गत सिजनमा कुल २२ गोल खायो। गोलको सङ्ख्या पहिलाका लीगमा भन्दा घटेको थियो।अरू खेलाडीसँग बल खोस्न भर्जिल सिपालु मानिन्छन्। उनकै क्षमताका कारण लिभरपुलले कम गोल खाएको तथ्याङ्कले देखाउँछ।फुटबल समीक्षकहरूले भर्जिल वर्ष खेलाडीको उपाधिका लागि सबैभन्दा उपयुक्त पात्र भएको टिप्पणी गरेका छन्।

स्पेनका फुटबलका विज्ञ गेजम बलागेले बीबीसी रेडिओ फाइभ लाइभसँग भने, “भन डाइक यसका लागि उपयुक्त छन्। धेरै तरिकाले उनी परिवर्तनको संवाहक हुन्।””खेल्ने तरिका मात्र नभएर उनले गर्ने व्यवहारले पनि उनी नेता हुन्।”

“तथ्याङ्क र परिणाम हेर्दा उनले लिभरपुलले प्रतिरक्षा गर्ने शैलीलाई परिवर्तन गरिदिएका छन्। उनी उच्चस्तरका आधुनिक सेन्टर-ब्याक हुन्।”

रोनाल्डो र मेसीले पाँच चोटि सो उपाधि पाइसकेका थिएतस्वीर कपीराइटGETTY IMAGES

मेसीरोनाल्डो युगको अन्त्य?

बलागेले भने, “उनको उपलब्धिमा म खुसी छु। गत सिजनमा उनीसँग मैले कुरा गरेको थिएँ, उनी मैदानबाहिर पनि शान्त थिए।”उनका अनुसार युरोपेली फुटबल “सम्भवत: एउटा युगको अन्त्यतिर” आएको छ।”किनभने हामीले रोनाल्डो र मेसीलाई उत्कृष्ट खेलाडीका रूपमा युरोपमा कति चोटि देख्नुपर्ने हो त्यो मलाई थाहा छैन।”

इटालीकी फुटबल विश्लेषक मिना रूकीले भर्जिलको उत्कृष्ट प्रदर्शनको प्रशंसा गर्दै भनिन्, “डिफेन्डरले टोलीमा ठूलो फरक पार्छन्। तर कहिलेकाहीँ उनीहरूको भूमिकाको उचित मूल्याङ्कन हुँदैन।”

“उनले लिभरपुरललाई धेरै तरिकाले फेरिदिए। अनि उनको शान्त स्वभावले उनीहरूलाई आक्रामक रूपमा खेल्न आधार बनाइदियो।””क्षेत्ररक्षणमा उनी धेरै बलिया छन्।… उनकै कारण लिभरपुल धेरै चोटि उत्कृष्ट बनेको छ।”

बीबीसीनेपालीबाट

प्रतिक्रिया दिनुहोस्