गण्डकीका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले पर्यटकीय विकासका लागि प्रदेश सरकारले पूर्वाधार निर्माणमा जोड दिएको बताएका छन् । बागलुङमा बृहत् पैदल यात्रा शुभारम्भ गर्दै उनले गण्डकी र संघीय सरकार पर्यटन भ्रमणवर्षलाई लक्ष्यित गरी पूर्वाधार निर्माणमा जुटिरहेको जानकारी दिए ।
‘नेपाल भ्रमणवर्ष–२०२० र गण्डकी प्रदेश भ्रमणवर्ष–२०२२ लाई लक्ष्यित गरी काम भइरहेको छ,’ उनले भने, ‘पर्यटनको गन्तव्यका रूपमा सबै लाग्नुको विकल्प छैन ।’ प्रदेशका १ सय १० पर्यटकीय गन्तव्य छानेर काम थालिएको लम्सालको भनाइ छ । ‘बढीभन्दा बढी पर्यटक भित्र्याउन सरकार लागिरहेको छ,’ उनले भने, ‘निजी क्षेत्रको सहकार्य अपरिहार्य हुन्छ ।’ मुलुकको आर्थिक, सामाजिक, सांस्कृतिक र पूर्वाधारको क्षेत्रमा पर्यटन प्रवद्र्धनबाट टेवा पुग्ने उनले बताए ।
धौलागिरि पर्यटन प्रवद्र्धन समितिलगायत विभिन्न १४ क्षेत्रको सहकार्यमा जिल्लामा पैदल यात्रा आयोजना गरिएको हो । ‘पर्यटन पूर्वाधारहरूको विकास गरौं, नेपाल भ्रमण वर्ष २०२० सफल पारौं’ भन्ने मूल नाराका साथ पञ्चकोट, संसारकोट, थाप्लेको धुरी, कान्छो धौलागिरि, बेलढुंगा र धम्मासम्म पैदल यात्रा सञ्चालन गरिएको छ ।
बागलुङ, पर्वत, म्याग्दीलगायत विभिन्न क्षेत्रका करिब ५ सय आन्तरिक पर्यटकले यात्रामा सहभागिता जनाएको धौलागिरि पर्यटक प्रवद्र्धन समितिका अध्यक्ष खिमानन्द कँडेलले बताए । यात्रामा सगरमाथा आरोही कृष्ण केसी पनि सहभागी छन् ।
















































































































































































